बिहीबार, वैशाख ३१, २०८३

सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या

मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन्। ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन्। खाल्डोमा पानी जमेको छ। सडकमा बुङ्बुङ्ती धुलो उड्छ। धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ। 

National life

मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन्। ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ। सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा त छँदैछ दुर्घटनाको जोखिम पनि बढेको छ। 

सडक खाल्डाखुल्डी हुँदा दशैँमा यात्रा गर्ने यात्रुले सास्ती पाएका छन्। मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँका धेरै ठाउँमा सडक खाल्डाखुल्डी हुँदा दशैँका बेला यात्रा गर्नेले सास्ती पाएको स्थानीयवासी बताउँछन्। 

सडकको दूरावस्थाले गर्दा यात्रा गर्दा सास्ती खेप्नुपरेको व्यास नगरपालिका–११ का भानुभक्त सोतीले बताए। सदरमुकाम दमौली नजिकैका अधिकांश ठाउँमा सडक खाल्डाखुल्डी पर्दा यात्रा गर्दा जोखिमका साथै दुर्घटनाको सम्भावना रहेको उनी बताउँछन्। सोती आक्रोश पोख्दै भन्छन्, ‘दशैँको बेलामा बाइक र स्कुटरमा हिँड्नेको पीडा सुविधायुक्त गाडीमा हिँड्नेलाई के थाहा।’

उनले दसैंका लागि लक्षित गरी सडक मर्मतका लागि नगरपालिकालाई आग्रह गरे। उनले भने, ‘नगरपालिका र वडासँग स्रोत साधन र बजेट छैन भने जनप्रतिनिधि ज्यूँ, बेल्चा लिएर आउनुस् श्रमदानका लागि हामी तयार छौँ।’ पृथ्वी राजमार्ग सङ्घीय सरकार मातहत रहेकाले यसमा केही गर्न नसकिने नगरपालिका बताउँछन्। 

पृथ्वी राजमार्गअन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा मुग्लिन पोखरा सडक विस्तारका लागि काम भइरहेको छ। त्यसले गर्दा सडक सडकमा धुलो बुङबुङ्ती उड्छ। धुलो र खाल्डाखुल्डी सडकले राजमार्गमा यात्रा गर्न जोखिम रहेको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताए। ‘दशैंका बेला त झन आफन्तकोमा जानुपर्छ, सडकको हालत यस्तो छ की यात्रा गर्नै मन लाग्दैन’, उनले भने, ‘तर के गर्नु दुःखकष्ट गरेरै भए पनि आफन्तकहाँ पुग्नैपर्‍यो।’

मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदी भने दसैंका लागि साना–साना खाल्डा मर्मत गर्ने काम गरिएको बताउँछन्। ‘साना–साना खाल्डामा एक चरणको मर्मत गरेका छौं, काम भइरहेका ठाउँमा भने सडक मर्मत गर्न सकेनौँ’, उनले भने, ‘बेला–बेलामा पानी हाल्ने काम पनि भइरहेको छ।’

दसैंमा सर्वसाधारणलाई केही सहज होस् भन्नका लागि फूलपातीसम्म धेरै ठाउँका खाल्डाखुल्डी मर्मत गरिएको उनले बताए। ‘ठूला खाल्डा परेका ठाउँमा काम भइरहेका थिए त्यहाँ मर्मत गर्न सकेनौँ’, उनले भने।

उक्त खण्डमा दशैँका लागि काम रोकिएको छ। कामदार फूलपातीदेखि घर गएकाले काम रोकिएको उनले भने। ‘दसैंपछि मात्र अब काम सुचारु हुन्छ, कामदार घर गएका छन्’, प्रमुख सुवेदीले भने। पृथ्वी राजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ। मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ। 

पूर्वी खण्डअन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। 

मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म ३.४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। आर्थिक वर्ष ०७८/७९ मा पूर्वी खण्डका लागि दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजार मात्रै खर्च भएको छ। कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताए। 

योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। आर्थिक वर्ष ०७८/७९ मा यो खण्डका लागि एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ। 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ। 

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।   -रासस

प्रकाशित: Oct 04, 2022| 09:49 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।