बिहीबार, वैशाख ३१, २०८३

हराउँदै छ सुकुल भोजको सलिचा

अगाडि सालको पातको लपेस। त्यसमा चिउरा, साँधेको भटमास, सिद्रा, चना, केराउ, अचार, मासुका परिकार। छेउमै जाँड र रक्सीले टन्न भरिएको सलिचा।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- सुकुलको आसन। अगाडि सालको पातको लपेस। त्यसमा चिउरा, साँधेको भटमास, सिद्रा, चना, केराउ, अचार, मासुका परिकार। छेउमै जाँड र रक्सीले टन्न भरिएको सलिचा। सामूहिक रुपमा खाइने खानाका यी परिकार सम्झँदा धेरैको मुख रसाउन सक्छ। 

National life

सलिचा दही, जाँड, रक्सी, पाऊँ आदि हालेर खाने सानो माटाको भाँडो हो।  परम्परागत यो माटोको भाँडो लोप हुन थालेको छ। यसको सट्टा प्लास्टिकको कप प्रयोग हुन थालेको छ।

भक्तपुरका सरोज लबजु भन्छन्, ‘सलिचामा दही खाँदा मिठो स्वाद फरक हुन्थ्यो। प्लास्टिकका गिलासमा त्यो स्वाद कहाँ पाउनु?’ 

सुकुल भोज भने पार्टी प्यालेसले विस्थापित गरिसकेको छ। बिहे, व्रतबन्ध र पास्नी जस्ता कार्यमा पार्टी प्यालेसमै भोज हुन थालेको छ। घरमै हुने सानातिना भोज र देवालीमा भने सुकुल भोज हुन्छ। 

भक्तपुर च्यामासिहंकी कृष्णश्वरी प्रजापतिको पुर्ख्यौली पेसा नै सलिचा बनाउनु हो। उनका अनुसार अचेल सलिचाको माग निकै घटेको छ।

यसप्रति नयाँ पुस्ताले चासो दिन छाडेको उनको अनुभव छ। उनी भन्छिन्, ‘छोराहरूले गर्दैनन्, हामी बूढाबूढी मिलेर बनाउँछौँ। अब त बूढो पनि भइयो, धेरै काम गर्नै सकिँदैन।’ 

सलिचाको माग पनि घटेको छ। मागअनुसार आपूर्ति गर्न नसकेको उनी बताउँछिन्। यसको माग जात्रा, भोज, दसैंतिहारमा मात्र हुने गर्छ। जाँडरक्सी सलिचामा हालेर खाँदा स्वादिलो हुने यसका पारखी बताउँछन्।

संस्कृतविद् तेजेश्वर बाबु ग्वँगका अनुसार माटोसँगको मानव सभ्यता जोडिएको छ। उनले भने, ‘भोजमा सलिचाको प्रयोग हाम्रो परम्परा हो। अझै पनि सलिचाको प्रयोग गरिएको पाइन्छ। तर घट्दै गएको छ।’

त्यसो त  माटो पाइने ठाउँमा बस्ती विस्तार भएका छन्। त्यसैले भाँडा बनाउने माटो सजिलै पाइन्न।  भाँडा बनेपछि पोल्ने दाउराको पनि अभाव छ।

‘माटो नै पाइँदैन। त्यसैले हामीलाई नै गाह्रो भएको छ’, व्यवसायी विनोद प्रजापति भन्छन्। उनका अनुसार उपत्यकाबाहिरबाट पनि माटो ल्याउनुपर्ने हुन्छ। 

एउटा सलिचाको मूल्य ५ रुपैयाँ पर्छ। ५० देखि ६० वटा प्लास्टिकका गिलासको करिब एक सयदेखि एक सय पचाससम्म पाइन्छ। त्यही ५० देखि ६० वटा सलिचाको पाँच सय पर्न जान्छ। यसैले पनि मानिस सस्तो रोज्न थालेका छन्।

नयाँ प्रविधि आउनु स्वाभाविकै रहे पनि मौलिकता गुमाउन नहुने सुझाव ग्वँगको छ। उनले भने,  ‘यसका लागि आफ्नै प्रविधि, संस्कार र परम्परा र स्थानीय स्रोतसाधनको ज्ञान दिने पाठ्यक्रम बनाउनुपर्छ।’

यसो नगरे संस्कृति नै हराएर जाने उनले बताए। सलिचालाई समयअनुसार परिमार्जन गरी प्रयोग गर्नुपर्ने उनले बताए। उनले भने, ‘समाज परिवर्तनशील छ तर परम्परा हराएर जानु राम्रो होइन।’ यस्ता परम्परागत विषयमा विद्यालय स्तरबाटै सिकाउने हो भने जगेर्ना हुन सक्ने उनको भनाइ छ। 

प्रकाशित: Oct 04, 2022| 09:10 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।