शुक्रबार, असार ५, २०८३

अनि दसैंमा गुन्जिन्छ 'रातो टीका निधारमा टलक्क टल्कियो'

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- ‘रातो टीका निधारमा टलक्क टल्कियो’। चलचित्र अल्लारेको गीत हो, यो। तीन दशक अगाडि बनेको चलचित्रको गीत आज पनि दसैं वरपर बजिहाल्छ। 

National life

व्यावसायिक सोचले सिर्जना गरिएको गीत दसैं सान्दर्भिक होला भनेर कहिल्यै सोचेका थिएनन्, संगीतकार शम्भुजित बाँस्कोटाले। गीतकार सहदेव ढुंगनाले लेखेको गीतलाई संगीतकार बाँस्कोटाले संगीतबद्ध गरेका थिए। 

‘गीत राम्रो हुन्छ भन्ने लागेको थियो तर सदावहाद हुन्छ भन्ने लागेको थिएन’, कम्पोज गर्दाको दिन सम्झिँदै बाँस्कोटाले भने। 

आजको युवा पुस्तामाझ यो गीत लोकप्रिय होला भन्ने कल्पना पनि गरेका थिएनन् उनले। प्रेमसम्बन्धी धेरै गीत बनाए बाँस्कोटाले तर रातो टीका निधारमा भन्ने मुखडाले दर्शकको मन जितेको ठान्छन्। 

संगीतकार बाँस्कोटाले यो गीत संगीत गर्दा अलि फरक रहेको सम्झिन्छन्। गीतका टुक्का मीठा भए पनि खासमा माथिल्लो मुखडा यस्तै भने थिएन। प्रेमभाव आउने खाले गीतलाई बारम्बार नयाँ–नयाँ ट्युन बनाएको उनले सम्झिए, ‘रातो टीका निधारमा टलक्क टल्कियो भन्ने ठ्याक्कै थिएन। जब नयाँ ट्युन बनाउन थालियो अनि मुखडामा जोडियो।’

Shivam cement

हुन त, आफ्नो सिर्जाना सबै हिट होस् भनेर काम गरिन्छ। तर कति हिट हुन्छ भन्ने अड्कल दर्शकले लगाइदिन्छन्। यो गीत अहिले पनि दर्शकको रुचिमा हुनु भनेको मौलिकतासँग जोडिएको ठान्छन्, संगीतकार बाँस्कोटा। नेपाली चलचित्र संगीतको इतिहासमा रातो टीका निधारमा छुटाउनै नसकिने गरी दर्शकमाझ लोकप्रिय बनेको बताउँछन्, बाँस्कोटा। भन्छन्, ‘दसैं मौलिक चाड हो। मौलिकतासँग हाम्रो आत्मीयता छ। त्यसैले दसैंमा यो गीत बज्छ। भोलिका भोलिसम्म बज्छ।’

ढुंगालाई माटोको भर, माटोलाई ढुंगाको भर एक अन्तरामा छ। यो शब्द सामान्य हो। ढुंगामाटो दैनिक जीवनसँग नजिक छ। निर्जीव वस्तुमा जीवन कल्पना गर्न सकिन्न। यही सेरोफेरोमा मायाप्रेम चलेको छ। बाँस्कोटाका अनुसार मायाप्रेमको गीत बनाउन खोजिएको थियो। पछि थेगोको रूपमा दसैं जोडियो। उनी भन्छन्, ‘चाडवाडसँग कति कनेक्ट छौं भन्ने भाव यो गीतले पनि बुझाउँछ। 

चलचित्रका गीत–संगीत प्रायः कम्पोजका क्रममा छलफल गरिन्छ। कस्तो ट्युनिङ ल्याउने, मास्टर धुन के बनाउने? कहाँबाट गीतको उठान गर्ने? सबै एकअर्काबीच छलफल हुन्छ। चलचित्र अल्लारेका निर्देशक अशोक शर्मा यो गीत संयोगले बनेको ठान्छन्। 

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।

दसैंका लागि गीत चाहियो भनेर लेखिएको थिएन। न त फिल्मको कथामा दसैं जोडिएको थियो। कथामै दसैं नभएपछि दसैंका गीत सोच्ने कुरै भएन। निर्माता शर्मा भन्छन्, ‘हामीले पहिला मौलिक प्रेमगीत खोजेका थियौं। पछि काम गर्दै जाँदा रातो टीका निधारमा जोडिन पुगेको हो।’

चलचित्र अल्लारेका अभिनेता तथा निर्मातासमेत रहेका शर्माले यो गीत तयार पार्न कुनै कसर बाँकी छाडेका थिएनन्। कम्पोज पनि मीठो भइदियो। शर्माका अनुसार यो गीत आज पनि बझ्नुको कारण लोक प्याट्रन ठान्छन्। 

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत भएका छन्। भनिन्थ्यो, राजेशले नाच्नै नआएर पनि राम्रो नाचेको जस पाएको गीत थियो, रातो टीका निधारमा टलक्क टल्कियो। 

अल्लारे चलचित्रबाटै नेपाली फिल्म उद्योगमा स्थापित भएका शर्मा करियरको टर्निङ प्वाइन्ट यो गीत पनि ठान्छन्। उनी भन्छन्, ‘चलचित्रलाई माथि उठाउन गीतले पनि भूमिका खेलेको हो।’

‘रातो टीका निधारमा’ शीर्षक राखेर अर्को चलचित्र बनाए। आफ्नै छोरा अंकित शर्मालाई नेपाली सिनेमामा प्रवेश गराए। पुरानै गीतलाई रिमेक भर्सनका रूपमा प्रयोग गरे। अनि नचाए अंकित र साम्रज्ञी, बुद्धि तामाङ, निता ढुंगाना, रवीन्द्र झा, जयनन्द लामा, वसुन्धरा भुसाल, खुश्बु खड्का, शिवहरि पौडेल, अरुणा कार्कीलगायतका कलाकारलाई।

गीत हिट भएकै कारण यो नामको फिल्म बनाउन हौसिएको स्वीकार्छन्, शर्मा। भन्छन्, ‘पचासको दशकमा फिल्मसँगै गीत पनि हिट भयो। गीतकै शीर्ष लाइनलाई फिल्मको नाम राखेर काम गरिएको हो।’

चलचित्र रातो टीका निधारलाई शर्माले दसैंका दिनमै प्रदर्शनमा ल्याएका थिए। अल्लारे चलचित्रमा गायक उमेश पाण्डे र रमना श्रेष्ठले गीत दिएका थिए भने रातो टीका निधारको शीर्ष गीतलाई गायक प्रमोद खरेल र मेलिना राईले गाए। 

शर्माको ‘रातो टीका निधारमा’ फिल्मले व्यावसायिक सफलता नपाए पनि गीतले आज र भोलिसम्म पनि सफलता पाइरहनेछ। ज्ब–जब दसैं नजिकिनेछ अनि गुन्जिनेछ, ‘रातो टीका निधारमा टलक्क टल्कियो!’


प्रकाशित: Oct 04, 2022| 09:28 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।