काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलर खरिद दर १३० रुपैयाँ ३० पैसा कायम गरेको छ। बिक्री दर १३० रुपैयाँ ९० पैसा तोकिएको छ, जुन हालसम्मकै बढी हो।
लगातार उकालो लाग्दै अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव पर्न जान्छ। आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्य बढ्दा त्यसले महँगी बढाउने र जनजीवन प्रभावित पार्नेछ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको तुलनामा भारु खस्किँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा परेको हो।
रसिया र युक्रेन युद्धका कारण संसारभरकै अर्थतन्त्रमा चाप परेको तथा अमेरिकाको फेडरल रिजर्भले अगाडि सारेको नीतिका कारण पनि विश्वरभर नै डलर बलियो बन्दै गएको छ। अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीका अनुसार अमेरिकी डलरको मूल्यमा भएको लगातारको वृद्धिले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ।
नेपाल आयातमुखी अर्थतन्त्रमा आधारित देश भएकाले पनि डलरको मूल्य बढ्दा त्यसले मालवस्तु आयातमा बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ। निर्यातको मात्रा ३० प्रतिशतभन्दा माथि रहेको भए डलरको मूल्य बढ्दा त्यसले सकारात्मक प्रभाव पार्ने भए पनि नेपालको अवस्था त्यस्तो नभएकाले समस्या उत्पन्न गर्ने डा. अधिकारीको भनाइ छ।
विप्रेषण आप्रवाहमा केही सकारात्मक प्रभाव पर्ने भए पनि पेट्रोलियम पदार्थ आयातका लागि गर्नुपर्ने खर्च तथा विभिन्न आयोजनाका निम्ति आयात गर्नुपर्ने उपकरण, परामर्शदातालाई तिर्नुपर्ने रकम तथा अन्य मालवस्तु खरिदमा बढी पैसा भुक्तानी गर्नुपर्ने भएकाले डलरको मूल्यमा हुने वृद्धिले समस्या पार्न सक्ने उनको बुझाइ छ।
अमेरिकी डलरको मूल्यवृद्धि हुँदा विदेशबाट आउने विप्रेषण आप्रवाहमा केही सकारात्मक प्रभाव पर्न सक्छ। चाडपर्वको समय बढी विप्रेषण भित्रने गर्छ। तर विप्रेषण बढी भित्रिए पनि तिनका परिवारले विदेशबाटै आयात गरिएका मालवस्तु खरिद गर्दा देशभित्र पैसा रहने अवस्था भने कम हुने उनको भनाइ छ। पर्यटक बढी आएको भए डलरको मूल्यवृद्धिले सकारात्मक प्रभाव पार्ने थियो भन्छन्, डा. अधिकारी।
नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्ने र नेपालको अर्थतन्त्रको उन्नयनमा साथ मिल्ने थियो। डलरको मूल्य बढ्नेबित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिने आयातको मूल्य स्वतः बढ्न जान्छ। व्यापार घाटा बढ्दै जाँदा चालू तथा शोधान्तरमासमेत प्रभाव पर्न जाने डा. अधिकारी बताउँछन्। यसबाट मुलुकभित्र रहेको विदेशी मुद्रा भण्डारणमा समेत चाप पर्न जान्छ।
डलर मूल्यमा वृद्धि हुँदा बजारमा महँगीको मात्रामा वृद्धि हुन जान्छ। पेट्रोलियम पदार्थदेखि खाद्यान्नसम्म आयात हुने हुँदा त्यसको प्रभाव बजारमा पर्न जान्छ। विदेशमा अध्ययन गर्न गएका विद्यार्थीलाई नकारात्मक प्रभाव पर्न जान्छ।
नेपालले विदेशी दातृ निकायसँग लिएको ऋणको परिमाण पनि डलरको मूल्यवृद्धिले थप बढोत्तरी हुन जान्छ। विदेशी ऋणको सावाँ र ब्याज भुक्तानीका लागि सरकारले तय गरेको वित्तीय व्यवस्थामा यसको प्रभाव पर्न जान्छ र रकम अभाव हुन जान्छ। नेपाली मुद्रा र भारुबीचमा स्थिर विनिमय दर भएकाले भारतमा हुने मूल्वृद्धिको चाप नेपालमा पर्न जान्छ।
नेपालको सबैभन्दा बढी व्यापार भारतसँग हुने गरेको छ। चालू आवको पहिलो महिनामै बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत छ।वैदेशिकतर्फ चालू आवको पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड कायम भएको छ। सोही महिनामा १ खर्ब ३१ अर्ब २९ करोड बराबरको वस्तु आयात भएको छ।
सो महिनामा कुल व्यापार घाटा १ खर्ब १६ अर्ब ४८ करोड बराबरको छ। राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार देशभित्र कुल विदेशी सञ्चिति ९ अर्ब ४२ करोड डलर छ। चालू खातातर्फ १६ अर्ब २६ करोडले घाटा छ। शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा छ।