काठमाडौं- प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल र इजरायल सरकारबीच भएको सरकार–सरकार सम्झौताअनुसार इजरायलमा हेरचाहसम्बन्धी कामका लागि नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत नेपाल सरकारले सन् २०२४ मा परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा सहभागीमध्ये इजरायल जानका लागि भएको चिठ्ठा प्रक्रियामा छनोट हुन नसकेका १५६ जनालाई इजरायल पठाइदिने भन्दै आरोपीहरूले रकम लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भरत चौलागाईं र बालिका सिवाकोटीलगायत व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी पीडितलाई विश्वासमा पारेका थिए। उनीहरूले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल पठाइदिने भन्दै झुक्याएको र पीडितहरूबाट कुल २ करोड ५० लाख रुपैयाँ रकम लिएको आरोप छ।
ठगीमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाहीको माग गर्दै पीडितहरूले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। आरोपीहरूलाई २०८३ असोज १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।