काठमाडौं- इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गरेको छ। गएराति भएको खेलमा ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल गर्दै चेल्सीमाथि प्रभावशाली जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। चेल्सीले सुरुआतमा केही राम्रो अवसर बनाए पनि ब्रेन्टफोर्डका गोलरक्षक कोभिन केलेहरले पेड्रो नेटोको प्रहार उत्कृष्ट बचाउ गरेका थिए।
खेलको ६१औँ मिनेटमा ब्रेन्टफोर्डले अग्रता लियो। मिकेल डाम्सगार्डको कर्नरमा जानिक सुश्टरले बललाई गोलतर्फ फर्काएपछि जाइडन एन्थोनीले नजिकबाट हेडमार्फत गोल गरेका थिए।
चेल्सीले बराबरीका लागि दबाब बढाए पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन। उल्टै ८३औँ मिनेटमा ब्रेन्टफोर्डले अग्रता दोब्बर बनायो। केभिन शाडेको प्रहार चेल्सीका गोलरक्षक एमिलियानो मार्टिनेजले रोके पनि रिबाउन्डमा इगोर थियागोले गोल गर्दै खेल २–० बनाए। इन्जुरी समयको चौथो मिनेटमा फाबियो कार्भाल्होले तेस्रो गोल थपे। शाडेको क्रसमा कार्भाल्होले गोल गर्दै ब्रेन्टफोर्डको जित पक्का गरे।
यस हारसँगै चेल्सीले प्रिमियर लिगमा लगातार तीन खेलमा जित निकाल्न सकेको छैन। पाँच खेलबाट चेल्सीको७ अंक छ। ब्रेन्टफोर्ड भने यस सिजन लिगमा अपराजित रहँदै ९ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ। ब्रेन्टफोर्डले चेल्सीविरुद्ध आफ्नो घरेलु मैदानमा सन् १९३८ पछि पहिलोपटक जित हात पारेको हो।