काठमाडौं– २६ वटा वाणिज्य बैंकले एक सातामै २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप जम्मा गरेका छन्। नेपाल बैंकर्स संघले जारी गरेको विवरणअनुसार असोज पहिलो साता अर्थात् ७ असोजसम्म २६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन थप गरेका हुन्।
गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेकामा ७ असोजसम्म ४५ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन्।
असोज पहिलो साता कर्जा प्रवाह भने ४ अर्ब रुपैयाँ थप गरेको संघको तथ्यांकले देखाएको छ। सोही अवधिमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत कायम छ। भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा ७ असोजमा आइपुग्दा ४१ खर्ब ९४ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ।
राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार भने साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो। २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ। २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत थियो।
त्यस्तै, साउन मसान्तसम्ममा समग्र बैंक तथा वित्तीय संस्थाको प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो।
साउन मसान्तसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.०१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ०.७ प्रतिशतले घटेको छ। २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७८ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत थियो।
आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः २.१ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ।
साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.८ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १.१ प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३ प्रतिशतले र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.६ प्रतिशतले घटेको छ।