पोखरा– पोखरामा अहिले तेस्रो संस्करणकव माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ। पोखराको कभर्डहलमा भएको प्रतियोगितामा १३ देशका झण्डै १४ सय खेलाडीको सहभागीता रहेको थियो। विश्व तेक्वान्दोले जी-२ को मान्यता प्रदान गरेको प्रयितोगितामा विश्व तेक्वान्दोका अध्यक्ष जो जङवोन पनि नेपाल आइपुगेका छन्।
७४ वर्षीय जो सन् २००४ बाटै विश्व तेक्वान्दा संघका अध्यक्ष छन्। र, खेलकुदको क्षेत्रमा फुटबलका अध्यक्ष जियान्नी एन्फान्टिनो र ओलपिम्कका अध्यक्ष थोमस ब्याचपछि सबैभन्दा धेरै प्रख्यात छन्।
उनले सन् १९९९ देखि नै तेक्वान्दो ह्युमानिटेरियन फाउन्डेसनको सुरुआत गरेर यसबाट धेरै देशका खेलाडीलाई सहयोग गरिसकेका छन्। त्यस्तै, उनी तेक्वान्दो शान्ति कर्पोरेसनका मानार्थ अध्यक्ष पनि हुन् भने गुडविल कर्पोरेसनका अध्यक्ष हुन। उनी कोरियाली ओलम्पिक कमिटीका सल्लाहकार पनि हुन्।
उनकै सहयोगमा काठमाडौंको बौद्धमा शान्ति बाटिकाको स्थापना गरिएको छ। जो अहिले तेक्वान्दोका माध्यमबाट विश्व शान्ति फैलाउने अभियानमा छन्। तीनै जोसँग उनको नेपाल यात्रा, नेपाली तेक्वान्दोको अवस्था, सम्भावना, समस्या र तेक्वान्दोको बढ्दो व्यापकताबारे नेपाल समयका लागि खेलकुद संवाददाता विनय ज्योति सापकोटाले अध्यक्ष जो जङवोनसँग कुराकानी गरेका छन्। सो कुराकारनीको अनुवादित अंश यस्तो छः
नेपालमा यो कतिपटकको भ्रमण हो?
पोखरामा मेरो यो तेस्रो भ्रमण हो। समग्रमा नेपालमा नै म तेस्रो पटक आइपुगेको छु। पोखरामा पाँच महादेशका युनियनका अध्यक्षसँग बैठक गरेका थियौँ। फिस्टेल लजमा त्यो मिटिङ निकै रमाइलो रह्यो। सन् २०१५ को भूकम्प र बाढीपहिरोपछि म पहिलो पटक नेपाल आएको थिएँ। धेरै जनधनको क्षति भएको थियो। हामी सहयोग गर्नका लागि हामी यहाँ आएका थियौँ। त्यसपछि हामी नेपालको तेक्वान्दोको विकासमा पनि सहयोल गरिरहेका छौं। मलाई लाग्छ नेपालीले पनि तेक्वान्दोलाई धेरै माया गरिरहेका छन्।
त्यसपछि सायद, तेक्वान्दोको विकासका लागि हामी आएको हो। नेपाली टिममा राणा(प्रकाश शमशेर)को टिमले निकै राम्रो काम पनि गरिरहेको छ। हामी धेरै खुसी छौं कि, यस्तो ठूलो प्रतियोगिता नेपालमा सम्पन्न भएको छ।
तपाईंलाई चाहिँ नेपालका के कस्ता कुरा मन परेका छन्?
मलाई यहाँ सबैभन्दा धेरै मनपर्ने भनेको हिमाल र पहाडहरु हुन्। म युवा हुँदाका दिन- सन् २००० सम्म पहाडतिर हिँड्न रुचाउथेँ। म दक्षिण कोरियामा नै हुर्के बढेको हुँ। त्यहाँ पनि पहाडहरु छन्। मलाई पहाडमा यात्रा गर्न रमाइलो लाग्छ। हप्तामा दुई पटक म हिमालतिर जान्थेँ।
नेपालको प्रकृति सुन्दर खालको छ। यहाँका हिमाल सुन्दर छन् र विश्वकै अग्ला हिमाल यहाँ छन्। म व्यवसायिक माउन्टेनर त होइन। तर मलाई हिमाल मनपर्छ। त्यसैले मलाई नेपाल मनपर्छ। नेपाली मानिस मनपर्छ र नेपाली खाना पनि मनपर्छ।
त्यस्तो खाना छ, जुन असाध्यै मनपरेको होस्?
धेरै छन्। मैले नेपाली खाना खाएर धेरै इन्जोय गरेँ। तर, मलाई नेपाली खानाको नाम चाहीँ थाहा छैन। नामबारे हेक्कै राखिनँ, भनौँ न। यद्यपि यहाँको र कोरियाको केही खाना मिल्दो देखेँ। केही चाहीँ ठ्याक्कै मिल्ने रहेछ।
नेपाली तेक्वान्दोलाई तपाईंले धेरै सहयोग गरिरहनु भएको छ। नेपालमा त्यस्तो विषेश लक्षण वा सम्भाव्यता केही देख्नुभएको छ?
छ। साथै संलग्न भएका विश्वका सबै देशलाई तेक्वान्दो विकासमा समर्थन र सहयोग गरिरहेका छौं। व्यक्तिगत रुपमा नेपाल मेरो लागि विशेष देश हो। सायद, यो च्याम्पियनसिपपछि पनि म व्यक्तिगत भ्रमणका लागि केही दिन यहीँ रहनेछु। (जो कै विषेश पहलमा नेपालले जी -२) र्यांकिङको प्रतियोगिता अयोजना गर्न पाएको हो।
तेक्वान्दो मात्र यस्तो खेल हो, जसबाट नेपाली खेलाडी ओलम्पिकमा छनोट भए। पछिल्लो समय पारा तेक्वान्दोमा नेपालले डि-साइडर खेलमा हार बेहोरेर पहिलो पटक मेडल ल्याउन चुकेको छ। यसले नेपाली तेक्वान्दोको सम्भावना पनि उच्च देखाउँछ।
यसलाई थप मजबुत बनाउन तपाईंको सुझाव के रहन्छ?
नेपाललाई अझै राम्रा प्रशिक्षक चाहिन्छ। त्यो धेरै महत्वपूर्ण कुरा हो। वैज्ञानिक तरिकाले अभ्यास गर्नु उपयुक्त रहन्छ। यो सबैलाई थाहा भएको कुरा हो। केही बेलामा यस्तो पनि हुन्छ कि, म एक उदाहरण दिउँ। कोरियन विश्वप्रसिद्ध खेलाडी इदे होङ भन्ने थिए। उनले विश्व च्याम्पियनसिप र जुनियरका खेल धेरै जितेका छन्।
तर, ओलम्पिकमा गोल्ड मेडल जित्न सकेनन्। किनभने उनको स्किल सबैलाई थाहा भइसकेको थियो। हामीले सजगपूर्वक अप्ठ्याराहरु पत्ता लगाउन सक्नुपर्ने हुन्छ। नेपाल पोटेन्सियल भएको देश हो। तेक्वान्दो, पुम्सेमा र मार्सलआर्टमा नेपालले धेरै सम्भावना बोकेका देश हो। तर, कोही-कोही बेला भाग्यले पनि साथ दिनुपर्ने हुन्छ।
तपाईंलाई थाहा होला। अफ्रिकन देश नाइजेरिया र कोट डिभोरले ओलम्पिकमा गोल्ड मेडल जितेका छन्। अरुले पनि पहिलो पटक ब्रोन्ज जितेका छन्। त्यसपछि उनीहरुको देशमा तेक्वान्दो निकै फस्टाइरहेको देखिन्छ। उनीहरु खेलकुदमा फास्टेस्ट एथलिट खोजिरहन्छन्। अहिले तेक्वान्दो धेरै गतिसिल खेल भइसकेको छ।
जस्तै पुम्सेको कुरा गयोँ। यसमा विषेश ट्यालेन्ट भएका खेलाडी चाहिन्छ। त्यसैले कति देशहरुले जिम्यास्टिकका खेलाडी पुम्सेमा ल्याएका छन्। सिंक्रोनाइज स्विमिङ र बाँकी खेलका ट्यालेन्टहरु छानेर तेक्वान्दो सिकाइरहेका छन्। यो फरक बाटो हो। हामी कहिलेकाहीँ तेक्वान्दो खेलाडीमै खोजिरहेको कुरा अन्य खेलका खेलाडीमा भेटिन सक्छ। हामीले विचार पुर्याउनुपर्छ।
क्यारोगी एथ्लिटमा पनि त्यस्तै हुन्छ। उनीहरुले बास्केटबल र भलिबलका खेलाडीलाई लिइरहेका हुन्छन्। र, तेक्वान्दो अभ्यास गराउँछन्। त्यस्ता खेलाडी सफल भएका छन्। उचाई र लामा गोडाले तेक्वान्दो खेल्न सहयोग गर्छ।
नेपालमा दुई तेक्वान्दो संघ भएको कुरा विदितै होला। तपाईंहरुले एउटा संघलाई मात्र मान्यता दिएको भनेर सूचना पनि पठाइसक्नु भएको छ। यसले नेपालमा प्रतियोगिता आयोजनामा असर गरिरहेको छ। यस्तो कुरालाई विश्व तेक्वान्दो महासंघले कसरी हेर्छ?
यस्ता संघहरुको एकीकरण ज्यादै महत्वपूर्ण कुरा हो। भारतमा पनि यस्तै भएको हो। यो कुराहरु मैले भन्नेभन्दा पनि आन्तरिक रुपमा नै समाधान गर्नुपर्छ भन्ने लागेको छ। सबैलाई समान व्यवहार गर्नु महत्वपूर्ण रहन्छ। नत्र भने अप्ठ्यारो अवस्था पैदान हुन्छ।
कोभिड-१९ को महामारी लामो समयसम्म चल्यो। महामारीपछि विश्वको ‘सिनेरियो’मा तेक्वान्दो खेल कसरी अघि बढिरहेको छ?
तेक्वान्दो एक उत्कृष्ट ओलम्पिक खेल हो। टोकियो ओलम्पिकबाटै कोभिडपछि तेक्वान्दोले पनि गति लियो। यूएनले चिनेको २१२ आधिकारिक देश र थप एक देशमा हाम्रो संघ विस्तार भएको छ। विश्वको तेक्वान्दोले फेडेरेसनले शरणार्थी खेलाडीको सन्दर्भमा सपोर्ट गर्ने काम पहिलो र अग्रगामी रुपले गरिरहेको छ। गत हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्ष थोमस बाथले जोर्डनको अजरख क्याम्प भ्रमण गरेका थिए। त्यहाँ उनले तेक्वान्दोका शरणार्थी खेलाडी भेट्नु भएको थियो।
त्यो क्याम्पमा आईओसीको ओलपिम्क रिफ्युजी फाउन्डेसनको स्कलरसिप पाउने खेलाडीहरु छन्। आज, उहाँले त्यस्ता खेलाडीलाई प्रोत्साहन गर्नुभएको छ। यस्ता कुराले तेक्वान्दोलाई विश्वको अग्रगामी बनाएको हो। २१२ यूएनमा भएका देश हुनु भनेको ठूलो कुरा हो। हामीले विश्वका पाँच देशलाई मात्र समावेश गर्न नसकेको अवस्था छ।
अफ्रिका दुई देश एरिटेरिया र नामिबिया मात्र सदस्य छैनन्। ढिलोचाडोँ उनीहरु पनि जोडिने छन्। यो वर्षमा नै उनीहरु जोडिन सक्छन्। युरोपको एक देश लिचेस्टाइनमा पनि तेक्वान्दोको विस्तार गर्न हामीले चाहिरहेका छौं। अनि एसियाको उत्तर अफ्रिकासँग पनि जोडिनका लागि अग्रह गरिरहेका छौं। दुई कोरियन देशको राजनीतिक अवस्थाका कारण सजिलै सम्बन्ध स्थापना गर्न नसकेको हो। तर, चाँडै हुन्छ भन्नेमा विश्वास छ।
खेलकुदमा दर्शक र समर्थकको उपस्थिति महत्वपूर्ण रहन्छ। तेक्वान्दोमा समर्थकको चासो यसको व्यापकता चाहीँ कति देख्नुभएको छ?
२००६ मा हामीले पुम्से च्याम्पियनसिप भनेर सुरु गरेका थियौँ। त्यतिबेला मानिसहरुले ओहो! पुम्से त स्पर्धा नै होइन रहेछ भन्ने गरेका थिए। तर, यो सफल भयो। मानिसले हेरे रुचाए। अहिले तपाईं नै हेर्नुहोस् पुम्से कहाँ पुगेको छ। सबैले पुम्सेको अभ्यास गर्न रुचाउँछन्। यसले जिम्न्यास्टिकको धेरै हदसम्म ज्ञान दिएको छ। पुम्सेचाहीँ अहिले मल्टीस्पोर्टस खेलमा समावेश भइसकेको छैन। एसियाली खेलकुद, पानाम गेम्स र अफ्रिकन गेम्समा पनि समावेश छैन। यो राम्रो खेल भने हो। यो विस्तारै हुँदै गएको छ।
सन् २००९ मा पारा तेक्वान्दो सुरु भएर टोकियो पाराओम्पिकमा डेब्यु गर्दा धेरै सफल भएको छ। पुरुषमा तीन र महिलामा तीन विधा मात्र समावेश भएका थिए। त्यो सफल भए पछि के भयो त? अहिले आईओसीले यो खेललाई अर्को ओलम्पिकमा पाँच विधामा गर्ने भनेको छ।
अहिले त पारा तेक्वान्दो ओलम्पिकको तेक्वान्दोभन्दा पनि ठूलो इभेन्ट भयो। मानिसले पनि त्यसरी नै रुचाएका छन्। यसरी खेलाउन पाएकोमा धेरै खुसी छौं। हामी विश्वकै तेक्वान्दोलाई नजिकबाट हेरिरहेका छौं। तेक्वान्दो मात्र यस्तो खेल हो, जसले सबै फरक खालका खेलाडीलाई सम्हालिरहेको छ।
तपाईंले हेर्नु भयो-भएन, गतवर्ष अमेरिका गट ट्यालेन्टमा पनि तेक्वान्दोको टिमले कस्तो प्रदर्शन गरेको थियो। उनीहरुले पछि अमेरिका (लस एन्जलस) को गेममा पनि डेमोनेस्ट्रेसनमा बोलाएका थिए। तेक्वान्दोको नयाँ विधा पुम्सेले यसरी संसारलाई कला देखाइरहेको छ।
माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपाली तेक्वान्दो खेलाडीले उद्घाटनमा राम्रो डेमोनेस्ट्रेसन गरेका छन्। मेलै त्यो हेरेर खुब रमाइलो गरेँ।
यो प्रतियोगिताको आयोजनक र नेपाली तेक्वान्दोलाई के सुझाव दिन चाहनुहुन्छ ?
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उनीहरुलाई अनुभवको खाँचो छ। साधारण तरिकाले गरेर हुँदैन। स्थानीय र घरेलु च्याम्पियनसिपभन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता धेरै हिसाबले फरक र टफ हुन्छ। मलाई लाग्छ माउन्ट एभरेस्टको स्थानीय आयोजक, स्वयंसेवकले आफ्नो स्तर बढाउनका लागि धेरै सिक्न र पढन आवश्यक देखिन्छ। यदि तपाईं धेरै खेलाडी र विश्व तेक्वान्दोलाई बोलाउनु हुन्छ भने झनै संवेदनशील हुनुपर्छ। धेरै अनुभव बटुल्नु पर्छ र, प्रतियोगिता आयाजना गर्नुपर्छ। नभए गाह्रो हुन्छ।
के तपाईँ फेरि नेपाल भ्रमण गर्न चाहनुहुन्छ?
गर्छु। यो मेरो तेस्रो भ्रमण मात्र हो। हाहाहा...। फेरि आउने छु।