काठमाडौं– चाडपर्वको समय संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था चुस्त राख्न ३ हजार ३४३ प्रहरी परिचालन गरिने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षा भरपर्दो बनाउन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको जानकारी दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाउन मंगलबारदेखि नै चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको बताए।
सुरक्षा निकायबीच समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, अवाञ्छित घटना भएका ठाउँमा पाँचदेखि सात मिनेटभित्र पुगेर कारबाही प्रक्रिया अघि बढाउने, स्रोत–साधनको यथोचित परिचालन गर्ने, अपराध न्यूनीकरण गर्ने र पीडितलाई न्याय तथा पीडकलाई सजाय दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको प्रवक्ता मैनालीको भनाइ छ।
अपराधका घटना बढी भएका स्थान र हुन सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा सादा पोसाकमा प्रहरी परिचालन र सूचना संकलन गरिनेछ।
सैगरी काठमाडौं प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन, टोलटोलमा माइकिङका साथै पर्चा/पम्प्लेट वितरण र स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीसँग निरन्तर छलफल गरिनेछ।
चाडपर्वको समय काठमाडौंका मुख्य–मुख्य चोक, व्यापारिक केन्द्र, बढी आर्थिक कारोबार हुने स्थान तथा काठमाडौं प्रवेश गर्ने नाकामा सिसीटिभी क्यामेराबाट मनिटरिङ गर्ने, ड्रोनबाट तस्बिर लिई सुरक्षा प्रदान गर्ने र अनुसन्धानमा तालिमप्राप्त कुकुर प्रयोग गर्ने कार्ययोजना रहेको प्रवक्ता मैनालीले बताए।
यसैगरी काठमाडौंभित्र रहेका १४ प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई प्रभावकारी परिचालन, १२ स्थानमा प्रहरी हेल्प डेस्क स्थापना, १२ स्थानका टिकट काउन्टरमा प्रहरी परिचालन, २४ स्थानमा मोबाइल गस्ती, ९१ स्थानमा पिकेटिङ, प्रहरी निरीक्षकको कमान्डमा १४ स्थानमा क्यूआरटी, २८ स्थानमा नाका सिल, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा÷पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट र ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ।
१२ वटा मन्दिरमा प्रहरी परिचालन, खसी, कुखुरा किनबेच हुने बजारमा सुरक्षा, २२ स्थानमा विशेष निगरानी, ४६ स्थानमा सीआरबी परिचालन, ६ स्थानमा अनुगमन र अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको प्रवक्ता मैनालीले बताए।