काठमाडौं- मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ। नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम’मा अधिकांश वक्ताहरूले पूर्वाधार क्षेत्र मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताएका हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले सरकारले निर्माण क्षेत्रका लागि समयमा रकम भुक्तानी नगर्दा व्यवसायी मारमा परेको बताए। 'ठेक्का पार्नका लागि कम रकम राखेर टेण्डर हालिन्छ, त्यही रकम पनि समयमा पाइँदैन, त्यसकारण व्यवसायी मर्कामा परेका हुन्', उनले भने।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अगाडि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताए। 'पूर्वाधार विटमा कलम चलाउने सञ्चारकर्मीलाई मर्यादित र व्यवस्थित बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रेस काउन्सिलले लिएको छ', उनले भने।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको र यस क्षेत्रमा कलम चलाउँदा पत्रकार जिम्मेवार बन्नुपर्ने बताए। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आम जनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेरमात्र समचार सम्प्रेषण गर्न आग्रह गरे।
पूर्वाधारविज्ञ प्रा डा राजेन्द्र अधिकारीले आयोजनाको समय पनि थप नगर्ने र आयोजना सकिनुपूर्व त्यसलाई खबरदारी गर्ने परिपाटी बनाउन सके धेरै आयोजना समयमै पूरा हुने विश्वास व्यक्त गरे।