बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालयका प्रमुख सनतकुमार शर्माका अनुसार सङ्ग्रहालयलाई नेपालसहित विश्वका विभिन्न भागमा भएका विज्ञान र प्रविधि क्षेत्रका थुप्रै उपलब्धिसम्बन्धी प्रदर्शन गर्ने गरी ‘साइन्स सिटी’ मा परिणत गरिँदैछ।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

काठमाडौं- ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन कुन सिद्धान्तले काम गर्छन्? अनि रकेट कसरी अन्तरिक्षसम्म पुग्छ? 

National life

अबको तीन वर्षपछि आफ्ना पुर्खाले विकास गरेका परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य मुख्य नमूना कीर्तिपुरमा देख्न पाइने छ। त्यहाँस्थित विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा विज्ञान सङ्ग्रहालयका प्रमुख सनतकुमार शर्माका अनुसार सङ्ग्रहालयलाई नेपालसहित विश्वका विभिन्न भागमा भएका विज्ञान र प्रविधि क्षेत्रका थुप्रै उपलब्धिसम्बन्धी प्रदर्शन गर्ने गरी ‘साइन्स सिटी’ मा परिणत गरिँदैछ। अहिले सङ्ग्रहालयलाई त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएका सबै क्षेत्र समेट्ने गरी कुल एक सय ५० रोपनी क्षेत्रफलमा ‘साइन्स सिटी’ बन्नेछ। 

आज मनाइएको राष्ट्रिय विज्ञान दिवसका सन्दर्भमा कुरा गर्दै उनले यससम्बन्धी गुरुयोजना तयार पारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा स्वीकृतिका लागि पठाइएकोसमेत जानकारी दिए। यस योजनाअनुसार काम सुरु भएपछि तीन वर्षभित्र भूमिगत कक्षहरुसहितको ठूलो क्षेत्रफलमा विज्ञानका उपलब्धिहरु राखिने छन्।

'यही सङ्ग्रहालयमा ठूला ठूला अक्वारियम, तारामण्डल र ग्रहहरु हेर्न सकिने अब्जरभेटरी, विश्वले विज्ञानमा गरिरहेका नयाँ नयाँ उपलब्धिहरु तथा विज्ञानको इतिहाससमेत हेर्न पाइने छ,' शर्माले भने। यसबाहेक डाइनोसरको सम्पूर्ण विषयवस्तु थाहा दिने गरी एक डाइनोसर पार्क पनि बनाइने छ। अब्जरभेटरीबाट नेपालका आकाशमा उदाउने ग्रह र नक्षेत्रको अवस्थिति र गतिबारे प्रत्यक्ष ज्ञान हुनेछ। 

राष्ट्रियस्तरमा देशकै पहिलो र एक मात्र विज्ञान सङ्ग्रहालयका रूपमा रहेको यो विज्ञान सङ्ग्रहालयको उद्घाटन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल असोज १ गते गरेका थिए। सङ्ग्रहालयमा अहिले रोबोट, बिजुली र चुम्बकत्व, प्रकाश, दृष्टि र अप्टिकल भ्रम, ध्वनि र एप्लाइड मेकानिक्स, मानव विकास क्रम र शरीर विज्ञानका विभिन्न पक्षहरू राखिएका छन्। 

Shivam cement

यसबाहेक ग्रह नक्षत्र अध्ययनका लागि वेधशाला र विज्ञानका विभिन्न उपलब्धि समेटिएको सानो फिल्म हल पनि त्यहीँ छ। यो हलमा विज्ञानसम्बन्धी वृत्तचित्र र फिल्महरु प्रदर्शन गरिँदै आएको छ। यसबाट सर्वसाधारण र खासगरी विज्ञानका विद्यार्थीले लाभ लिइरहेका छन्। 

प्रकाशित: Sep 24, 2022| 05:30 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्