काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयनको तयारी सुरु गरेको छ। यो कार्यक्रम कार्यान्वयन दसैंअघि नै सुरु हुने मन्त्रालयले बताएको छ।
कार्यक्रम कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा १० अर्ब रुर्पयाँ छुट्याइएको छ। कार्यक्रम कार्यान्वयन स्थानीय तहमार्फत गर्ने गृहकार्यमा कृषि मन्त्रालय जुटेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश सञ्जेलले स्थानीय तहमार्फत कार्यान्वयन गर्ने निर्णय भएअनुसार विभिन्न कार्यक्रम तथा मापदण्डको प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको बताए।
‘जुन खाद्यवस्तु सबभन्दा बढी आयात हुन्छ, त्यसलाई लक्षित गरेर कार्यक्रम बनाएका छौं। भन्सार विभागको तथ्यांक हेर्दा सबभन्दा बढी धान, मकै, हरियो तरकारी, आलु, दूध, मासु, माछालगायतका खाद्यवस्तु आयात भएको देखिन्छ। यी वस्तुको उत्पादन कसरी वृद्धि गर्न सकिन्छ, त्यसको कार्यक्रम बनाएर अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ’, उनले भने। कृषि मन्त्रालयले केही उद्योगलाई पनि यो कार्यक्रममा समावेश गरेको छ।
कार्यक्रम सञ्चालनका लागि मापदण्ड तयार भएको मन्त्रालयले बताएको छ। उनले भने, ‘हरेक स्थानीय तहमा हरेक कार्यक्रम जाँदैन। जहाँ, जुन बाली आवश्यक छ, जहाँ, जुन बाली राम्रो उत्पादन हुन्छ, ती ठाउँमा त्यही बालीको कार्यक्रम लैजान्छौं।’ एउटा स्थानीय तहमा एउटा र एकभन्दा बढी कार्यक्रम पनि हुन सक्ने मन्त्रालयले बताएको छ।