शुक्रबार, वैशाख २१, २०८१

पूर्वसुरक्षाकर्मीको संसद् नजर

प्रहरी सेवामा रहँदा राजनीतिक दल निकट पुगेर नेताको नाडी छाम्न भ्याएका पूर्वसुरक्षाकर्मीहरू अवकाशपछि पार्टीहरूलाई रिझाएर प्रदेशसभा र संघीय निर्वाचनमा होमिने तयारीमा छन्।
 |  शनिबार, असोज १, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

शनिबार, असोज १, २०७९

काठमाडौंं– ४ मंसिरमा हुने आमनिर्वाचनमा देशभर साढे २ लाख बढी सुरक्षाकर्मी खटिँदैछन्। तर यस पटक कुनै बेला निर्वाचनमा खटिएर सुरक्षास्थिति चुस्त बनाउन भूमिका खेलेका सुरक्षाकर्मीसमेत कानुन निर्माणका लागि संसद् छिर्ने कसरतमा छन्। कोही आफ्नै पार्टी गठन गरेर दललाई टक्कर दिने तयारी गरिरहेका छन् भने केहीलाई पुराना दलहरूले सिफारिससमेत गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा उनीहरूले आफ्नो हिसाबले प्रचार–प्रसार पनि सुरु गरिसकेका छन्।

triton college

यीमध्ये पूर्वडीआईजी नवराज सिलवाल यसअघि नै माननीय बनिसकेका छन् भने पूर्वडीआईजी भक्तिनाथ माझी प्रदेश सांसद बन्ने दौडमा यसअघि असफल भएका थिए। अन्य पूर्वसुरक्षाकर्मी पहिलोपटक संसद् छिर्ने कसरत गरिरहेका छन्।

नवराज सिलवाल
२०७४ मै संसद् छिरिसकेका पूर्वडीआईजी सिलवाल यस पटक पनि चुनावी दौडमा छन्। 

सिलवाल २०७४ मा नेपाली कांग्रेसका उदयशमशेर राणालाई ६ हजार २२२ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। आईजीपीको लाइनमा रहेका उनी मर्यादाक्रमको पहिलो नम्बरमा थिए। तर प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो वरीयतामा रहेका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सर्वोच्च अदालत गए। सर्वोच्चले चन्दको नियुक्ति रोक्यो तर सिलवालको माग भने पूरा भएन। बरु उनलाई कार्यसम्पादन मूल्यांकनमा नक्कली कागजात पेस गरेको आरोप लाग्यो र पक्राउसमेत परे। सरकारले वरीयतामा दोस्रो तर कार्यसम्पादनमा पहिलो नम्बरमा रहेका प्रकाश अर्याललाई आईजीपी नियुक्त गर्यो। 

त्यसपछि सिलवालको राजनीतिक यात्रा सुरु भयो। राजीनामा स्वीकृत हुनु दुई दिनअघि नै एमाले अध्यक्ष केपी ओलीको हातबाट टीको लगाएर एमाले प्रवेश गरे। लगत्तै टिकट पाए र चुनाव जिते।

corrent noodles
Metro Mart

कीर्ते मुद्दामा उनीविरुद्ध अनुसन्धान अगाडि बढेपछि सम्पर्कविहीन भएका थिए। मुद्दा चलिरहेकै बेला तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गाडी चढेर प्रतिनिधिसभा पुगेर उनले शपथ लिएका थिए।

पछि राजनीतिक पहुँचका आधारमा ५ वटा आधार अगाडि सारेर उनीविरुद्ध मुद्दा नचलाइएको आरोप लाग्ने गरेको छ। यसपटक पुनः संसद् छिर्ने चाहना गरेका उनको नाम एमालेले ललितपुर–१ बाट सिफारिस गरेको छ।

रमेश खरेल

सरकारले सर्वेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि आईजीपी बन्न नपाएकैले पूर्वडीआईजी रमेश खरेलले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिए। आक्रामक शैली र खरो अभिव्यक्तिका कारण लोकप्रिय बनेका उनले संगठनबाट बाहिरिएपछि भ्रष्टाचारमुक्त अभियान चलाए। अभियानलाई सर्वसाधारणले राम्रै साथ दिएपछि उनले त्यही भर्याङमार्फत राजनीतिमा उक्लिने तयारी गरे। अघिल्लो वर्ष मंसिरमा नेपाल सुशासन पार्टी गठन गरे।

गत वैशाखमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारीसमेत गरेका उनी अन्तिममा ब्याक भए। तर उनी यतिबेला भने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन्। काठमाडौं–१ बाट चुनाव लड्ने उनले गत असारमै घोषणा गरिसकेका छन्।

तर उनलाई यो क्षेत्रमा चुनाव जित्न त्यति सहज भने छैन। यो नेपाली कांग्रेसका प्रकाशमान सिंहको निर्वाचन क्षेत्र हो। २०६४ यता निरन्तर तीन निर्वाचनमा सिंह यही क्षेत्रबाट विजयी भएका छन्। २०७४ को प्रतिनिधिसभामा सिंहले तत्कालीन विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई ८१८ मतान्तरले पराजित गरेका थिए। यस पटक पनि पाँचदलीय सत्ता गठबन्धनबाट सिंह यहीँबाट साझा उम्मेदवार बन्ने तयारीमा छन्।

एमालेले यस क्षेत्रबाट केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, पूर्वउपमेयर विदुर मैनाली र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको नाम सिफारिस गरेको छ।

सुवोधकुमार अधिकारी
सशस्त्र प्रहरीका पूर्वएआईजी सुवोधकुमार अधिकारी पनि माननीय बन्ने दौडमा छन्। स्याङ्जा–१ बाट कांग्रेसले उनको नाम प्रत्यक्षमा सिफारिस गरेको छ। 

अधिकारीले तत्कालीन केपी ओली सरकारको दबाबमा जानकीराम भट्टराई, निराकरविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठसँगै २१ असार २०७५ मा एआईजी पदबाट राजीनामा दिएका थिए। सरकारले ५ महिनादेखि जिम्मेवारविहीन बनाएपछि बाध्य भएर उनीहरूले राजीनामा दिनुपरेको थियो।

राजीनामा दिएलगत्तै अधिकारी कांग्रेस राजनीतिमा सक्रिय भएका थिए। उनी स्व. कांग्रेस नेता शिवकुमार अधिकारीका छोरा हुन्। कांग्रेस संस्थापक नेता बीपी कोइरालाका सहयात्री रहेका शिवकुमार राजा महेन्द्रले कू गरेपछि बीपीसँगै भारत निर्वासनमा गएका थिए।

पारिवारिक पृष्ठभूमिका कारण कांग्रेसमा छोटो समयमै राम्रो अवसर पाए पनि उनलाई स्याङ्जा– १ मा टिकट पाउन भने त्यति सजिलो छैन। किनभने, कांग्रेसबाटै यस क्षेत्रबाट उपासभापति धनराज गुरुङ, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, गोविन्द रानाभाटलगायतको नाम पनि सिफारिस भएको छ।

भक्तिनाथ माझी
पूर्वडीआईजी भक्तिनाथ माझी थारुको नाम कांग्रेसले समानुपातिकबाट सिफारिस गरेको छ। कांग्रेस मोरङ उपसभापतिसमेत रहेका उनी विजयकुमार गच्छदार निकट नेता हुन्। माझी डीआईजी नबन्दै २०६५ मै एसएसपीबाटै अवकाश पाउन लागेका थिए। तर आफू निकट भएकैले त्यसबेला गच्छदारले सात जना डीआईजीको दरबन्दी थपेर एउटा फुली माझीलाई पनि लगाइदिएका थिए।

प्रहरी सेवामा रहँदै गच्छदारका प्रियपात्र बनेका माझीले डीआईजीबाट अवकाश लिएलगत्तै गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)बाट राजनीतिमा प्रवेश गरेका थिए। २०७४ मा गच्छदारले पार्टी कांग्रेसमा विलय गराएपछि माझी पनि उनीसँगै कांग्रेस छिरे। आसन्न निर्वाचनमा उनको नाम समानुपातिकबाट कांग्रेसले सिफारिस गरेको छ। रमाइलो के भने यसअघि उनी प्रदेश ४ ‘क’ क्षेत्रबाट २०७४ मा प्रदेशसभा उम्मेदवार थिए। त्यसबेला उनी कांग्रेसका महेश आचार्यसँग पराजित भएका थिए।

विक्रमसिंह थापा
नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाको एकल नाम कांग्रेस कपिलवस्तुले २ (क)बाट प्रदेशसभामा सिफारिस गरेको छ। २०७३ मंसिरमा अवकाश पाएपछि उनी राजनीतिमा सक्रिय भएका थिए।

द्वन्द्वकालमा दुई पटक माओवादीको एम्बुसमा परेका उनी नाकाबन्दीताका कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने केएल दुगडलगायतका ठूला कम्पनीमा छापा हानेर चर्चामा आएका थिए। तर उनीविरुद्ध विभिन्न गम्भीर आरोप पनि लागेका छन्। केही समयअघि गायिका रेखा शाहले एक टेलिभिजन अन्तर्वार्तामा लगाएको आरोपपछि थापाको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।

शाहले २०७२ मा घर किन्न भनेर बैना दिएको तर पास नगरिदिएपछि आफूलाई थुनाइएको आरोप लगाएकी थिइन्। बैना दिएको ७३ लाख रुपैयाँ घर पास नगरिदिएपछि आफूले फिर्ता मागेकामा उल्टै प्रहरी लगाएर पक्राउ गरेको दाबी उनको थियो। उक्त घटनामा प्रहरीले उनलाई बोलाएको थियो। त्यसबेला काठमाडौं परिसर प्रमुख रहेका थापाले आफूमाथि मानसिक यातना दिएको आरोप शाहले एक टेलिभिजन कार्यक्रममा लगाएकी थिइन्। जुनसुकै अभियोग लगाएर जिन्दगीभर थुनाइदिने धम्की त्यसबेला थापाले दिएको आरोप शाहले लगाएकी थिइन्।

प्रणयशमशेर राणा
पूर्वसैनिक प्रणयशमशेर राणा काठमाडौं–५ बाट स्वतन्त्र लड्ने तयारीमा छन्। द्वन्द्वकालीन नेपाली सेनाका कमान्डो अधिकृत राणा पछि जागिर छाडेर अमेरिका पुगेका थिए। उनले त्यहीँबाटै द्वन्द्व व्यवस्थापनमा पीएचडी गरेका थिए।

नेपाली सेना र नेपाल प्रहरीका विज्ञ प्रशिक्षकका रूपमा समेत काम गरेका उनले अमेरिकामा रहँदा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनको जनस्वास्थ्य कार्यक्रम ओबामा केयरमा नीति विज्ञका रूपमा काम गरेका थिए।

शिक्षा, जनस्वास्थ्य र अनुसन्धानका क्षेत्रमा सक्रिय उनले कोरोना महामारीको समय  स्वास्थ्य सामग्री र औषधी सहयोग गरेका थिए। कांग्रेस निकट रहेका उनी कांग्रेसको १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत थिए। उनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकट पाए कांग्रेसबाटै चुनाव लड्ने तयारीमा थिए। तर टिकट नपाउने पक्का भएपछि उनी स्वतन्त्रबाटै उम्मेदवारी दिने तयारीमा जुटेका हुन्। 

काठमाडौं–५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो। उनी २०७४ मा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै निर्वाचित भएका थिए। यस पटक पुनः पोखरेल यहीँबाट चुनाव लड्ने तयारीमा छन् भने महत चुनाव लड्न नुवाकोट जाँदै छन्। कांग्रेसले यो क्षेत्र अरूलाई नछाड्ने दाबी गरेको छ।

यसअघि महतपछि अर्थशास्त्री स्वर्णिम वाग्ले, नैनसिंह महर यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बन्ने चर्चा चले पनि उनीहरु यहाँ नउठ्ने पक्का भइसकेको छ। कांग्रेसले यो क्षेत्रमा स्थानीय नेतालाई नै अघि सार्ने रणनीति लिएको छ।

यसैगरी २०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील नेपाली दलबाट उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जु दर्शनाले पनि यही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेकी छन्। ‘सिते बा’ नामले चिनिने कलाकार मधुसूदन पाठकले पनि यो क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित: Sep 17, 2022| 16:36 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...