काठमाडौं- मादक पदार्थ सेवन गरेर स्कुलबस चलाइरहेको अवस्थामा २ चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको जाँचका क्रममा कारवाहीमा परेका हुन्।
मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र बा २१ च ६६०९ नम्बरको प्रोमिनेट कलेज नेपालटारका माइक्रो बसचालक भीमनारायण श्रेष्ठ रहेका छन्। जाँचका क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन्।
मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमअनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ।