भैरहवा- सिद्धार्थनगरपालिकामा सन्चालित क्षेत्रीय शहरी विकास कार्यक्रम गुणस्तरीय नभएको, समयमै काम सम्पन्न नभएको भन्दैं सांसद सडकमा उत्रिएका छन्।
प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डे, प्रतिनिधी सभाको पूर्व सांसद ईस्तीयाक अहमद खान, सिनपा वडा नम्बर ४ वडाध्यक्ष भोला यादव, नेपाली कांग्रेसका नेता दिपक क्षेत्री न्यौपाने, नरेन्द्र रौनियार, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, महेश जैसवाल, विएन गुप्तासहितको टोलीले मिलनचौंकदेखी भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने समयमा सम्पन्न नभएको र गुणस्तरीय नभएको भन्दैं नगरपालिकाको चर्को विरोध समेत गरेका छन्।
सांसदको नेतृत्वमा भैरहवा बजारमा समेत नगरपालिकाको विरोध गर्दै प्रदर्शन गरिएको थियो। नगरपालिकाको प्राविधीक फाट अत्यन्तै अदक्ष भएको आरोप लगाउदैं सो वडाका वासिन्दा तथा व्यवसायीले नगरपालिकाको इन्जिनियरहरुको राजिनामा समेत माग गरेका थिए। उक्त सडक तत्काल नबनाए कर नतिर्ने समेत आन्दोलनमा उत्रीएकाहरुले चेतावनी दिएका छन् ।
नगरपालिका घेराउ तथा प्रदर्शन पश्चात सांसद पाण्डेले बाटो नबन्दा सम्म कर नउठाउन नगरपालिकालाई चेतावनी दिए।
नगरपालिकाले सांसदसहितको जनताको आन्दोलन नै भएपछि तत्काल छर्री खसालेर र रोलर सहित काम शुरु गर्ने क्षेत्रीय शहरी विकास आयोजनाका ईन्जिनियर यमलाल पाण्डेले प्रतिबद्धता जाहेर गरेपछि आन्दोलनकारी नगरपालिका परिसरबाट बाहिर निस्केका थिए।
प्रदर्शनकर्ताले नगरपालिकामा तालाबन्दी गर्न खोजेको भएता पनि प्रहरीले रोकेको थियो। नगर पालिकामा विरोध र घेराउ भईरहदा नगरका मेयर र उपमेयर भने नगरपालिका महासंघको कायृक्रममा भाग लिन काठमाण्डौं गएका थिए।
उक्त सडक खण्ड पश्चिम नेपालकै धेरै खाद्यान्न तथा गल्लाको होलसेल पसलहरु भएको क्षेत्र पनि हो। सडकमा खाल्डा खुल्डी हुदां धेरै दुर्घटना हुने गरेका छन् भने विमानस्थल जानेहरुले रुट परिवर्तन गरी लुम्बिनी रोड हुदैं जानु परेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४