काठमाडौं- प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौं तिलगंगामा निर्मित पशुपति धर्मशालामा दुवै नेतालाई अवकाशको जीवन बिताउन अलग-अलग कोठा छुट्याइएको छ।
भारतीय प्रधानमन्त्री मोदीका लागि कोठा नम्बर १०४ छुट्याइएको छ भने ओलीलार्इ १०६ नम्बर छुट्याइएको छ। धर्मशाला उद्घाटनपछि भारतीय प्रधानमन्त्री मोदीले केही समय सोही कोठामा बिताउनेछन्।
यो धर्मशाला भारतीय सहयोगमा निर्माण भएको हो, जहाँ एकसाथ चार सय जना बस्न मिल्छ। यसलाई ‘नेपाल–भारत मैत्री धर्मशाला’ नाम दिइएको छ। दुई वर्षअघि यसको निर्माण शुरु भएको थियो। करिब ४० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको हो।
भगवान् शिवका भक्त मोदीले प्रधानमन्त्री निर्वाचित भएलगत्तै सन् २०१४ मा पहिलो नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने घोषणा गरेका थिए।
धर्मशाला उद्घाटनपछि मोदीले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसलगत्तै उनले पशुपति मन्दिरमा विशेष पूजा गर्नेछन्। पशुपति क्षेत्र विकास कोषले त्यसका लागि तयारी गरिसकेको छ। पूजामा प्रधानमन्त्री ओली पनि सहभागी हुनेछन्।
प्रधानमन्त्रीद्वय ओली र मोदीबीच शुक्रबार बिहान होटेल सोल्टीमै एक घण्टा द्विपक्षीय वार्ता भएको थियो। पशुपतिनाथमा पूजापछि साँझ साढे पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४