काठमाडौं– बिमस्टेकको चौथो शिखर सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। बिहीबारदेखि काठमाडौंमा जारी सम्मेलन शुक्रबारको दोस्रो सत्रको कार्यक्रमबाट १८ बुँदै घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
सम्मेलनमा भएको समझदारीबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनका क्रममा विद्युत प्रसारण लाइनलाई अन्तरदेशीय बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
चौथो शिखर सम्मेलनमा उत्साहपूर्वक सहभागिताका लागि सदस्य राष्ट्रका सरकार र राष्ट्र प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गरेका छन्।
सम्मेलनलाई सफल बनाउन सदस्य राष्ट्रका प्रमुखले निर्वाह गरेको भूमिकाप्रति प्रधानमन्त्री ओलीले प्रशंसा गरे।
बिमस्टेकको अध्यक्ष राष्ट्र नेपालले अबको अध्यक्षताका लागि श्रीलंकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ। अबको पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुनेछ।
थाई प्रधानमन्त्रीले नेपाललाई दिए १५ लाख डलर
थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले नेपाललाई १५ लाख अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेका छन्।
उक्त रकम औषधी र औषधीजन्य उपकरणका लागि खर्च हुनेछ। प्रधानमन्त्री केपी ओलीसँग शुक्रबार बिहान द्विपक्षीय भेटवार्ताका क्रममा थाई समकक्षीले उक्त सहयोग घोषणा गरेका हुन् । उक्त रकम १६ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबर हो।
बिमस्टेक सदस्य मुलुकका सातै राष्ट्र/सरकार प्रमुखहरू शुक्रबार बिहान होटेल सोल्टीमा आयोजित ‘रिट्रिट’मा सहभागी भएका थिए। शुक्रबार नै बिमस्टेक विदेश मन्त्रीहरूले अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सम्मेलनको उपलब्धीबारे जानकारी दिन अहिले एक बजे होटेल ग्रान्डमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४