काठमाडौं– भोलि मंगलबारबाट दशरथ रंगशालामा धेरैपछि फुटबलको माहोल देखिनेछ। फुटबलको सहर काठमाडौंको मुटुमा अवस्थित रंगशालामा फुटबल फर्काउन दक्षिण एसियाली फुटबल संगठन साफ र अखिल नेपाल फुटबल संघ एन्फाले च्याम्पियनसिप आयोजना गरेको हो।
दक्षिण एसियामा कोभिड–१९को महामारीपछिकै सबैभन्दा ठूलो फुटबल रौनकसँगै यसले केही महत्वपूर्ण विशेषताको पनि संकेत गरिरहेको छ। क्षेत्रीय स्तरको प्रतियोगितामा सबैभन्दा मुख्य कुरा यसका सातै सदस्यले भाग लिँदैछन्। अनि रमाइलो कुरा चाहिँ पाकिस्तान आठ वर्षको लामो समयपछि बाँकी देशजस्तै ठूलो उत्साहसाथ खेल्न काठमाडौं आइपुगेको छ।
‘आठ वर्षपछि हामी यो मञ्चमा आइपुगेका छौं। अहिले हामी उत्साहित र सकारात्मक छौं। प्रतियोगितामा सुन्दर सुरुआत गर्दै फुटबलमा फर्किने हाम्रो लक्ष्य हो,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी कप्तान मारिया खानले भनेकी छन्।
सदाझैँ यो च्याम्पियनसिपमा अधिकांश टिमलाई लाग्छ– आफ्नै सबैभन्दा ठूलो प्रतिद्वन्दी भनेकै फिफा वरियताको ५८ औं स्थानमा रहेको भारत हो। नेपाली महिला फुटबलमा यो सत्य निकै तितो गरी मस्तिष्कमा भरिएको छ। लगभग हरेक पटक फाइनल अनि भारतसँग पराजित। माल्दिभ्सका प्रशिक्षक अहमद सरिफ र बंगलादेशका प्रशिक्षक स्लामा छोटोनले पाकिस्तान साफमा ब्याक भएकोमा स्वागत गरेका छन्।
अहिले नेपालले मात्र होइन– पाकिस्तान, माल्दिभ्स, बंगलादेशले पनि आफ्नो मुख्य लक्ष्य भारतलाई हराउनु नै रहेको बताएका छन्। ‘भारतले पाँच पटक महिला साफ जितेको छ। हामी उसलाई सम्मान गर्छाैं। हाम्रो फुटबल लगातार राम्रो भइरहेको छ। हामी राम्रो फुटबल खेल्नेछौं,’ बंगलादेशकी कप्तान सविता खातुनले भनेकी छन्।
दक्षिण एसियामा कोभिड–१९को महामारीपछिकै सबैभन्दा ठूलो फुटबल रौनकसँगै यसले केही महत्वपूर्ण विशेषताको पनि संकेत गरिरहेको छ। क्षेत्रीय स्तरको प्रतियोगितामा सबैभन्दा मुख्य कुरा यसका सातै सदस्यले भाग लिँदैछन्।
यता बंगलादेशका प्रशिक्षक स्लाम छोटोन पनि आफू उपाधि जित्नका लागि नेपाल आएको बताउँछन्। उनले भने, ‘अन्तिम छ वर्षबाट लगातार सुधार भइरहेको छ। उनीहरुले उपाधि जित्न सक्छन् भन्ने लाग्छ। बंगलादेशका खेलाडीले साफ र एएफसीको प्रतियोगिता पनि खेलेका छन्। अनि फिटनेस र टेक्निकल्ली उत्कृष्ट छन्। हामी अहिले चाहिँ फाइनलमा पुग्ने कोसिसस गर्नेछौं,’ उनले भने।
पाकिस्तानको त पहिलो खेल नै भारतसँग छ। भारतविरुद्धको खेललाई लिएर पाकिस्तानका प्रशिक्षक आलिन विस्की भन्छन्, ‘टफ टिमविरुद्ध खेल्नका लागि गाह्रो नै हुन्छ। यसबीचमा हामीसँग धेरै छोटो समय रह्यो। तर प्रतिबन्धको समयमा पनि फुटबल खेलिरहेका खेलाडीसँग अभ्यास राम्रो भएको छ।’
माल्दिभ्सका लागि समूह ए निकै ठूलो चुनौती सावित भएको छ। आफूलाई अप्ठ्यारो समूह परेको सहजै स्विकार गर्छन् माल्दिभ्सका प्रशिक्षक सरिफ। ‘हामी डेथ समूहमा छौं। तर सबैको आशा हुन्छ नै। तर सबैले रेस्पेक्ट गर्नुपर्छ। राम्रो तयारी गर्नुपर्छ भन्ने लागेको छ।’
भारतविरुद्ध केहि विषेश तयारी छ भनेर सोधिएको प्रश्नमा कप्तान अमिनथ जहियाले भनेकी छन्, ‘म धेरै त केहि पनि भन्दिन, हामी टफ समूहमा रहेका छौं। बंगलादेश र भारतसँगको टिम भनेको टफ समूह हो। अनि पाकिस्तानलाई स्वागत गर्न चाहन्छौं।’
सहभागितामा पाकिस्तान र माल्दिभ्स, भुटानलाई केही गर्ने हुटहुटी
यो प्रतियोगितामा केही नयाँ गर्ने हुटहुटीका साथ भुटानको टिम दुई हप्ताअघि नै काठमाडौं आइपुगेको थियो। अहिले ऊ काठमाडौंको वातावरणमा सहज भइसकेको छ भने त्रिभुवन आर्मी क्लबसँग अभ्यास खेल खेल्दै ४–० को जित निकालेको थियो।
अनि साफमा जहिल्यैको कमजोर टिम भुटानले यो वर्ष फरक तरिकाले अभ्यास गरिरहेको छ। ‘हामी च्याम्पियनसिपको उपाधि दावेदारी गर्ने आशका साथ आएका छौं। नेपालसँग धेरै खेलेका छौं। मलाई लाग्छ यो इडिसनले हामीलाई चिनाउनेछ,’ भुटानकी सहायक प्रशिक्षक टंकमाया घलेले भनेकी छन्।
भुटानी कप्तान पेमा छोदेन छिरिङले चाहिँ नेपालविरुद्धको पहिलो खेलको बयान गरिन्। उनले नेपाललाई कठिन टिमको रुपमा लिएकी छन्। उनी भन्छिन्, ‘नेपालसँग खेल्न गाह्रो हुनेछ। भुटानको युवा समूह बेस्ट छ भन्ने लागेको छ।’
कप्तान अमिनथ प्रतियोगितामा सहभागी बन्न पाएकोमा आफूलाई भाग्यशाली ठान्छिन्। ‘अनुभवी र नयाँ खेलाडीलाई साथ लिएर सहभागी बन्न पाउँदा लक्की महशुस गरेका छौं,’ उनले भनिन्, ‘यस्तो प्रकृतिको खेलले हामीलाई सहयोग नै गर्नेछ।’
यता पाकिस्तान फुटबलमा फर्किन पाएकोमा खुसी छँदैछ। पाकिस्तानको ८ वर्षअघिको टिममा भएका केहि खेलाडीमात्र अहिलेको टिममा छन्। बाँकी सबै खेलाडीले यो प्रतियोगितामा पाकिस्तानको जर्सी लगाएर डेब्यु गर्नेछन्।
‘हाम्रा खेलाडी यूएई र इंग्ल्यान्डमा पनि थिए। अहिले कुनै पनि निकट प्रतिद्वन्दीसँग खेल्नका लागि खेलाडीमा जस्तो भावना हुन्छ। आज हामी त्यहि अनुभव गरिरहेका छौं,’ पाकिस्तानकी कप्तान मारिया खानले भनेकी छन्। पाकिस्तानका प्रशिक्षक आलिन विस्कीले चाहिँ बाँकी कुराहरुलाई साइडमा राख्दै छोटो समयमा राम्रा अभ्यास गरेको जानकारी दिएका छन्। उनले आफ्नो टिम धेरै प्रतिस्पर्धि रहेको र हेल्थी रहेको बताए।
संकटबाट अघि बढ्दै श्रीलंका
श्रीलंकको आर्थिक मन्दीले त्यहाँको सबै पक्षमा असर गरेको छ। फुटबललाई पनि असर गर्ने नै भयो। यसैबीचमा साफले प्रतियोगिता आयोजना गरेर आफू सहभागी बन्न पाएकोमा श्रीलंकाका प्रशिक्षक सविनले खुसी व्यक्त गरे। उनले भने, ‘धन्यवाद साफलाई। क्राइसिसले धेरै असर त गरेकै छ। फुटबललाई असर नगर्ने कुरा नहुने हुँदैन। हामीसँग स्पोन्सर पनि छैन। यद्यपि हामीले अभ्यास चाहिँ राम्रो गरेका छौं।’
अन्तर्राष्ट्रिय ऋणको प्रभाव र राष्ट्रिय राजनीतिमा आएको बदलाबलाई नजिकबाट देखेका खेलाडी आफ्नो देशविरुद्ध भने प्रतिबद्ध रहेका छन्। ‘कमिटेड टिम विथ गुड सेसनले हाम्रो विश्वास उच्च बनाएको छ। यो टिमसँग साफमा खेल्न पाउँदा धेरै नै खुसी छौं,’ कप्तान पूर्णीमा परेराले भनेकी छन्।
राष्ट्रिय महिला टिम नभएपछि श्रीलंकाले ओपन ट्रायल सेसनबाट टिम छनोट गरेको थियो। ‘त्यसपछि अभ्यास राम्रो भएको छ। तयारी धेरै समय त भएन नै। हामीले कोलम्बोमा चार हप्ताको मात्र अभ्यास गरेको हो,’ प्रशिक्षक सविनले भने।