काठमाडाैं- क्रोएसियाको राष्ट्रिय टोलीका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनी पूर्व सहकर्मी एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुलका फरवार्ड मोहमद सलाहलाई पछि पार्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन ।
रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय टोलीबाट क्रोएसियालाई विश्वकप फाइनलसम्म लागेका मोड्रीच फाइनलमा भने फ्रान्ससँग पराजित भएका थिए । उनले विश्वकपमा व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारेका थिए ।
खेलाडी चुन्ने क्रममा मतदान हुँदा मोड्रीचले ३ सय १३ मत पाएका थिए । उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै उपाधि जितेका हुन् । रोनाल्डोले रियलका लागि गत सिजन ४४ खेलमा ४४ गोल गरेका थिए । लिभरपुलमा गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका सलाहले १ सय ३४ अंक हासिल गरे ।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४