आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • कला/साहित्य
  • तुच्छ राजनीतिक भाषा बोल्नेहरू फुक्काफाल, समाज ब्युँताउनेमाथि साइबर क्राइमको डन्डा

Siddartha premir insuranceSiddartha premir insurance

तुच्छ राजनीतिक भाषा बोल्नेहरू फुक्काफाल, समाज ब्युँताउनेमाथि साइबर क्राइमको डन्डा

नेपाली राजनीतिमा स्थापित भएका भनिएकाहरूले सामाजिक सञ्जालदेखि सभा–समारोमा व्यंग्यात्मक शैलीमा घोचपेच गर्दै एकअर्कालाई होच्याइरहन्छन्। एउटा कमेडियनले आफ्नो पेसागत काम गर्दा भने त्यसलाई राजनीतिक रङ दिएर अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिँदै छ।
 |  सोमबार, भदौ २०, २०७९
nespernesper

राज सरगम

राज सरगम

सोमबार, भदौ २०, २०७९

काठमाडौं– केही समय अगाडि कमेडियन अपूर्व क्षितिज सिंहले युट्युब च्यानल ‘कमेडी क्याफे’मा स्ट्यान्डअप कमेडी गरे, जसको शीर्षक थियो– नेवारको परम्परा। मधेस स्थायी घर भएका अपूर्वले नेवारी भाषा, लवज र परिकारलाई हास्य–व्यंग्यमार्फत बुझ्ने र बुझाउने कोसिस गरेका थिए। त्यही कोसिसलाई नेवार समुदायले गम्भीर रूपमा लिँदा समस्या सिर्जना भयो। 

triton college

नेवार समुदायले ‘नेवाःहरूको भाषिक र परम्परागत थातथलोलाई लिएर गरिएको तल्लो स्तरको प्रस्तुति भन्दै आफ्नो समुदायको भाषा, संस्कृति र सभ्यतामाथि प्रहार गरेकामा आपत्ति जनायो। फलस्वरूपः चौतर्फी विरोध भयो।  

यो कुरा थाहा पाएपछि अपूर्वले सामाजिक सञ्जालमार्फत माफी माग्नुका साथै भिडियोमार्फत पनि आफ्नो गल्ती स्वीकारे। विगत चार वर्षदेखि कमेडी गर्दै आएका अपूर्वले यसअघि पनि यही विषयमाथि कमेडी गरेको भिडियोमार्फत बताएका छन्। तर त्यतिबेला कसैले केही नबोलेको र अहिले आएर नेवार समुदायको चित्त दुखाइ भएकामा माफी मागे। उनले कसैको चित्त दुखाउन कमेडी नगरेको दाबी गर्दै भनेका छन्, ‘यो मुद्दालाई यही टुंग्याइदिनुहोला र म युट्युबबाट सबै भिडियो हटाउनेछु। गल्ती मान्छेबाटै हुन्छ। केही मित्रहरूबाट रिसर्च पुगेन पनि भनियो। म स्वीकार्छु। सरी।’

उनले माफी मागे पनि यो विषय टुंगिएन। उनका विरुद्ध नेवार समुदायका व्यक्तिले उजुरी दिनासाथ सिंहलाई प्रहरीले नियन्त्रणमा लियो। १२ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीसँगको सोधपुछमा पनि उनले आफूबाट गल्ती भएको स्वीकार्दै माफी मागे तर प्रहरीले भने संवेदनशील विषय भन्दै छाडेको छैन। यति संवेदनशील विषय बन्नुको कारण आमजनमानस कूतुहलमय भयो। 

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १० को दफा १६५ को सामाजिक रीतिस्थितिलाई खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान गरिरहेको थियो। अदालतबाट कसूर प्रमाणित भए अपूर्वलाई एक वर्षको जेल सजाय र १० हजार रुपैयाँ जरिमानाको सजाय हुन सक्थ्यो। तर १९ भदौमा जिल्ला प्रहरी परिसर, टेकुमा क्षितिजविरुद्ध किटानी जाहेरी दिने अभियन्ताको समूह र उनका परिवारबीच छलफल भएपछि मिलापको सहमति भएको छ।  

Metro Mart
vianet
नेपाली राजनीतिमा स्थापित भएका भनिएकाहरूले सामाजिक सञ्जालदेखि सभा–समारोमा व्यंग्यात्मक शैलीमा घोचपेच गर्दै एकअर्कालाई होच्याइरहन्छन्। एउटा कमेडियनले आफ्नो पेसागत काम गर्दा भने त्यसलाई राजनीतिक रङ दिएर अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिँदै छ। 

सम्पदा संरक्षण महाभियानको नेतृत्वमा अघिल्लो आइतबार १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता भएको थियो। सोधपुछका लागि बोलाइएका अपूर्व त्यहीँ पक्राउ परे।

छलफलका क्रममा क्षितिजका बुबाले पनि गल्ती भएको स्वीकारे। सम्पदा संरक्षण तथा गुठी बचाउ अभियानमा सक्रिय अभियन्ता गणपतिलाल श्रेष्ठले अपूर्वलाई सच्चिने मौका दिनुपर्ने भन्दै कडा कारबाही आवश्यक नरहेको बताएका छन्। ‘समुदायलाई होच्याएर अपूर्वले गल्ती गरेकै हुन्, मान्छेबाट गल्ती हुन सक्छ,’ उनले भने, ‘तर उसले सच्चिएर कुनै बेला उसैको मुखबाट समुदायको राम्रो कुरा पनि सुन्न पाइयो भने त्यो राम्रै हो। कारबाहीमा कडाइ गर्न खोज्दा अर्को गलत भावनाले प्रोत्साहन पाउन सक्छ।’ 

यसपछि उजुरीकर्ता र परिवारबीच छलफल सुरु भएको हो। जिल्ला प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीका अनुसार अहिले क्षितिजलाई अभद्र व्यवहारको कसूरमा थुनामा राखिएको छ। ‘बाहिर छलफल भइरहेको भन्ने सुनेको छ। उहाँहरूबीच सहमति भयो भने त्यहीअनुसार प्रक्रिया अघि बढाउँछौं,’ मैनालीले भने ।

०००

यसअघि कमेडियन प्रनेश गौतम युट्युबमा चलचित्र ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका थिए। गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएपछि हिरासतमा राखियो। स्ट्यान्डअप कमेडी गर्दै आएका गौतमले फिल्मबारे व्यंग्यात्मक शैलीमा समीक्षा गरेका थिए। चलचित्र समीक्षक समाजको ठम्याइअनुसार त्यो ‘एर्ब्सर्ड शैली’को समीक्षा थियो। तर फिल्म ‘वीर विक्रम–२’ का निर्देशक मिलन चाम्सले गौतमविरुद्ध अभद्र खाले टिप्पणी गरेर कलाकारको मानहानी गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए। चाम्सकै धम्कीपछि मिम नेपालले अहिले त्यो भिडियो युट्युबबाट हटाइसकेको छ। तर त्यही भिडियो समीक्षालाई आधार मान्दै प्रहरीले गौतमलाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलायो।

अहिले प्रनेश मानसिक रूपमा कमजोर भएको उनी निकटस्थको भनाइ छ। निर्देशक चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई तर्साउन ‘साइबर अपराध’ मुद्दा चलाएपछि सामाजिक सञ्जालमा विरोध भएको छ। चलचित्रको समीक्षालाई साइबर अपराधको व्याख्या गर्दै प्रनेशलाई पक्राउ गर्नु ‘प्रशासनिक अधिकार र कानुनको हदैसम्मको दुरुपयोग’ भन्दै राज्य र प्रहरीविरुद्ध रिहा गर्न जनदबाब बढेको थियो। यही जनदबाब थेग्न नसकेपछि प्रहरीले गौतमलाई जमानतमा रिहा गरे पनि मुद्दा अझै छिनोफानो भएको छैन। 

धार्मिक समुदाय, क्षेत्र वा जात–जातिमाथि गरिएका व्यंग्यात्मक सामग्रीबाट विवाद सिर्जना भएको यो नौलो घटना भने होइन। तर कुनै समुदायमाथि गरिएको व्यंग्यकै कारण कलाकार हिरासतमा पुगेका दृष्टान्त भने बिरलै छन्। अपूर्व पक्राउ परेपछि थुप्रै व्यक्तिले अनेक कोणबाट विश्लेषण गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने क्रम सुरु भएको छ। कसैले उनको भिडियो सामग्रीलाई अन्जानमा भएको सामान्य गल्ती भनेका छन् भने कतिले राजनीतिक स्वार्थ प्रेरित रहेको ठानेका छन्। केही व्यक्तित्वले उनको रिहाइको माग गरेका छन्। 

कमेडियन प्रनेश गौतम (बायाँ) र फिल्म निर्देशक मिलन चाम्स।
अनलाइन कानुनी परामर्शसम्बन्धी कम्पनी ‘मेरो अड्डा’का संस्थापक आलोक सुवेदी अपूर्व क्षितिज प्रकरण राजनीतिक मुद्दा बनाइएको हुन सक्ने आशंका गर्छन्। ‘यसअघि कमेडियन प्रनेश गौतम व्यंग्यात्मक भिडियो सामग्रीकै कारण हिरासतमा पुगिसकेका छन्। त्यतिखेर प्रहरी प्रशासनको उक्त कदमको निकै विरोध भएको थियो। एक पटक भइसकेको कुरालाई फेरि ब्युँताउन खोज्नुका पछाडि राजनीतिक मुद्दा बनाइरहेजस्तो लाग्छ,’ उनले भने।

सुवेदीका अनुसार भारतीय कानुनले कमेडियनलाई सुरक्षा दिएको छ। ‘कमेडी गरेकै भरमा जेल लैजान नहुने नियम बनाएको छ, भारतले। तर हाम्रोमा भने जनतामाथि भेदभाव भइरहेको छ। मधेसीका बारे हरेक पटक कमेडी गरिन्छ, मिमिक्री गरिन्छ, वर्गमा केन्द्रित भएर कमेडी गरेको पाइन्छ। कमेडीमा मात्र नभई सार्वजनिक रूपमा पनि भेदभाव गरिरहेका हुन्छन्। त्यसमा कुनै एक्सन लिँदैनौं, हामी। तर कलाकारमाथि भने एक्सन लिइरहेका हुन्छौं,’ उनले भने। 

भारत गुजरातका प्रख्यात स्ट्यान्डअप कमेडियन मुनब्बर फारुकीले हिन्दु धर्म र तिनका देवीदेवतालाई विषय बनाएर कमेडी गरिरहन्छन्। यही दोषका कारण उनका कैयौं कमेडी शो रोकिएका छन्। जनवरीमा मात्रै इन्दोरमा उनको शो थियो। त्यहाँका हिन्दुवादी संगठनले कार्यक्रम नै रोके। उनलाई प्रहरीले नियन्त्रणमा लियो। 

त्यसैगरी मुम्बईमा हुने भनिएको कार्यक्रम पनि त्यहाँको प्रहरीले रोक्यो। भारतीय प्रहरीसमेत भयभीत हुन्छ, उनको कार्यक्रम देखेर। अहिले नेपालमा पनि प्रहरी प्रशासन कमेडियनहरू देखेर डराउन थालेको छ। 

नेपाली राजनीति क्षेत्रमा स्थापित राजनीतिकर्मीले सामाजिक सञ्जालदेखि सभा–समारोमा व्यंग्यात्मक शैलीमा घोचपेच गरिरहेका हुन्छन्। एकअर्कालाई होच्याइरहन्छन्। सामाजिक सञ्जालमा अपाच्य शब्द बोल्ने तथा आरोप लगाउने गरेको पाइन्छ र पनि तिनमाथि कुनै कारबाहीको विषय बन्दैन। तर, एउटा कमेडियनले आफ्नो पेसागत काम गर्दा त्यसलाई राजनीतिक मुद्दा बनाइन्छ । मौनता साचेर रामरमिते हेरिन्छ । 

अनलाइन कानुनी परामर्शसम्बन्धी कम्पनी ‘मेरो अड्डा’का संस्थापक आलोक सुवेदी अपूर्व क्षितिज प्रकरण राजनीतिक मुद्दा बनाइएको हुन सक्ने आशंका गर्छन्।

दुई वर्षअघि कमेडी च्याम्पियन नामक ‘हाँस्यव्यंग्य’ प्रतिस्पर्धामा कमेडियन हिमेश पन्त राम र सीताको कुरा उठाउँदा विवादमा तानिए। प्रतिस्पर्धाको अन्तिम मोडमा धार्मिक विषय उठाउँदा उनका समर्थकभन्दा विरोधी बढी भए। उनले माफी मागेपछि उक्त घटना शान्त भएको थियो। 

त्यस्तै, केही साताअघि मात्र धार्मिक भावनामाथि ठेस पुर्याएको भन्दै ‘कमेडी हब’का सञ्चालक तथा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र कमेडियन सीता न्यौपाने विवादमा परे।

उनीहरूले उक्त कार्यक्रममा भगवान् शिव र पार्वतीको खिल्ली उडाएको भन्दै कार्यक्रम वहिष्कारसम्मको आवाज उठाइयो। उनीहरूले सार्वजनिक रूपमा माफी माग्दै युट्युबबाट भिडिओ डिलिट गरेपछि मात्रै उक्त विषय शान्त भयो।

गए ११ जेठमा ‘कमेडी हब’को पहिलो भागमा यमराजको भूमिकामा अभिनय गरेका कलाकार दीपेन्द्र प्रसाईंले १४ वर्षदेखि गर्दै आएको जागिर गुमाउनुपरेको थियो। प्रसाईंकै लेखनमा तयार भएको स्क्रिप्टमा कलेज र बोर्डिङ स्कुलमा हुने विकृति, विसंगतिमाथि व्यंग्य गरेका थिए। हास्यव्यंग्यमार्फत हसाउन खोजेका प्रसाईं न्याय खोज्दै मिडियामा आएका थिए। एक शैक्षिक संस्थाले कमेडीलाई अपराध ठान्छ।

कमेडी हब नामक टिभी कार्यक्रममा विवादित बनेको एक दृष्य।
कमेडी सर्कलमार्फत स्ट्यान्डअप कमेडी गर्दै आइरहेका अपूर्व क्षितिज सिंहले प्रनेशका बारेमा खुलेरै बोलेका थिए। उनले भनेका थिए, ‘निर्देशक चाम्सले तिमी केटाहरूलाई ठीक पार्छु भन्ने हिसाबले शक्तिको दुरुपयोग गर्दै प्रनेशलाई समातेको देखियो। यसले हामीले स्ट्यान्डअप कमेडी गर्नेहरूमा एकखाले त्रास सिर्जना गरेको छ। हाम्रो खुलेर बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको छ।’

जसरी अपूर्व प्रनेशका लागि बोलेका थिए, अहिले उनका पक्षमा भने अन्य कमेडियनहरू खासै बोलेको देखिँदैन। न त सामाजिक सञ्जालमा अपूर्वको पक्षमा लेखिएका छन्। आफ्नै पेसागत धर्म वहन गरिरहेका अपूर्वका पक्षमा कमेडी च्याम्पियन सिजन एकका हिमेश पन्त, सिजन दुईका भरतमणि पौडेल पनि मौन छन्। 

अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले नै समाजलाई जीवन्त र स्वतन्त्र बनाउने हो। अभिव्यक्ति स्तन्त्रतामाथि लगाम लगाउनु भनेको देशमा प्रजातन्त्र मर्दै जानु हो। राजनीतिकर्मी, सर्जक र बौद्धिक व्यक्तित्वले ‘अभिव्यक्ति स्वतन्त्रताप्रतिको हस्तक्षेप’ र ‘कानुनको दुरुपयोग’ भन्दै आवाज उठाइरहँदा नेपाली हास्यव्यंग्य क्षेत्रका निर्णायकसमेत मौन देखिए, केही अपवादबाहेक।

दीपकराज गिरी, सन्तोष पन्त, मनोज गजुरेल, राजाराम पौडेल, प्रदीप भट्टराईजस्ता व्यक्तित्व मौन छन्। बरु गायक योगेश्वर अमात्यले फेसबुकमार्फत अपूर्वको रिहाइ माग गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो नेवाः संघ–संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन। सानोतिनोमा अल्झिएर के–के नै गर्याजस्तो। अपूर्वलाई तुरुन्त छाड्न लगाऊ।’

त्यसैगरी पत्रकार यज्ञश सामाजिक सञ्जालमा अपूर्वका पक्षमा लेख्छन्, ‘यतिबेला कमेडियन क्षितिज अपूर्वलाई आफ्नो गल्ती बोध गरेर, भिडियो डिलिट गरिसक्दा पनि थुनामा राखिराख्नु गलत भएको उल्लेख गर्न चाहन्छु। खराब कला र खराब व्यंग्यलाई त्यही रूपमा लिने उदारता प्रकट गरौं। अपराधभन्दा धेरै ठूलो सजाय दिनु पनि फेरि सामाजिक मर्यादाकै उल्लंघन हुन जान्छ।’

अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतले नै समाजलाई जीवन्त र स्वतन्त्र बनाउने हो। अभिव्यक्ति स्तन्त्रतामाथि लगाम लगाउनु भनेको देशमा प्रजातन्त्र मर्दै जानु हो।

पत्रकार तथा लेखक विजयकुमार पाण्डे समाजिक सञ्जालमा लेख्छन्, ‘समुदाय विशेषको तालुमा कमेडीको तबला बजाएर पपुलर हुन खोज्ने उदाहरण नेपाललगायत कयौं देशमा छन्। ‘कमेडी’का सीमा हुन्छन् कि हुन्नन्? मेरो विचारमा हुनुपर्छ। अपूर्वले गरेको काम खराब स्वाद हो। उनले माफी मागेका छन्। नेवाः मित्रहरूलाई अपूर्वलाई क्षमा दिन अनुरोध गर्छु। उदारता नेवाः परम्पराको अंग हो। राष्ट्रिय विभूति शंखधर साख्वाःले सारा सहरको ऋण मोचन गरेका थिए।’

यसर्थ, जतिसुकै लोकतन्त्रका कुरा गरिए पनि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन सरकारहरू सधैं उद्यत भइरहन्छन्। तर अभिव्यक्ति स्वतन्त्रता हरेक मान्छेले सहजै पाउनुपर्छ। एक कमेडियनले चित्रण गरेको विषय दर्शकको रूपमा कसैलाई मन नपर्नु र त्यसविरुद्ध आफ्नो मत प्रकट गर्नुसमेत अभिव्यक्ति स्वतन्त्रताकै विषय हो। तर अपूर्वको विषय मन परेन भन्दैमा सीधै प्रहरी प्रशासनको प्रयोग गर्नु ‘वाक स्वतन्त्रता’ खिलाप जानु हो भन्छन् केही कलाकार।

प्रकाशित: Sep 05, 2022| 12:42 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।