जनकपुरधाम- प्रदेश २ को संसदमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई फाँसीको सजाय दिन माग उठेको छ। पछिल्लो पटक बलात्कारका घटनाहरु निरन्तर वृद्धि भइरहेको भन्दै यस्ता घृणित कार्य रोक्न कडाभन्दा कडा कानून ल्याउन सांसदहरुले माग गरेका छन्।
२ साउनपछि बिहिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले बालिकादेखि महिलाहरु बलात्कारजस्तो जघन्य अपराधको शिकार बन्दै आएको भन्दै नियन्त्रण गर्न कडा कानूनको खाँचो रहेको बताए।
नेकपा सांसद ज्वालाकुमारी साहले बलात्कारमा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय दिनुको विकल्प नरहेको बताइन्। ‘बलात्कारको घटना दैनिक बढ्दो छ,’ सांसद साहले भनिन्,‘यस्ता दुष्कर्ममा संलग्न व्यक्तिलाई फाँसीको सजाय दिइनुपर्छ।’ बलात्कार जस्ता अपराध नियन्त्रण गर्न सांसद साहले कडाभन्दा कडा कानून निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएकी छिन्।
यसैगरी नेकपाकै अर्का सांसद अनिता यादवले प्रदेश २ लाई मदिरामुक्त प्रदेश बनाउन माग गरेकी छिन्। अधिकांश अपराधिक घटनाहरु मदिरा र लागुऔषध सेवनगरी हुने गरेको भन्दै यादवले प्रदेशलाई मदिरा र लागुऔषधमुक्त बनाउनु पर्ने धारणा राखिन्। मदिरामुक्त प्रदेश बनाउन प्रदेश सरकारले तत्काल आवश्यक कदम उठाउनुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा झुटो बोलेको भन्दै आपत्ति जनाए। प्रधानमन्त्री ओलीले मलेठ घटनाबारे दिएको अभिव्यक्ति सतप्रतिशत झुटो रहेको भन्दै प्रदेशसभा जस्तो गरिमामय स्थानमा पनि झुटो बोल्नु हास्यास्पद रहेको टिप्पणी गरे।
यसैगरी कांग्रेस सांसद शिवचन्द्र चौधरीले जचुकाली परिसर भित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मर्मत संभारगर्न खर्च भएको रकम संसदमा प्रस्तुतगर्न सरकारसँग माग गरे।
संघीय समाजवादी फोरमका सांसद पारस साहले प्रदेश सरकारले दिएको सार्वजनिक विदा संघीय कार्यालयहरुले अवहेलना गरेर संसदको मानमर्दन गरेको आरोप लगाए।
बिहिबार बसेको प्रदेशसभा बैठकले प्रदेश आक्समिक कोष सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४