काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न प्रस्ताव गरेका छन्।
चौथो बिमस्टेक सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बिमस्टेक देशमा हुने महिला हिंसा तथा लागूपदार्थ दुर्व्यसनीका विषयमा साझा कानून निर्माण गरी यस क्षेत्रमा देखिएका समस्यालार्इ निराकरण गर्ने यस्तो सम्मेलन सहयोगी हुने बताए। उनले भने, 'बंगालको खाडी देशमा कहीं पनि नसालु पदार्थको तस्करी तथा ओसारपसार र महिला हिंसा हुनुमा कुनै एक देशको कानून कमजोर भएर मात्र होइन। यसको निराकरणका लागि साझा प्रयास आवश्यक छ।'
त्यसैगरी प्रधानमन्त्री मोदीले बिमस्टेक देशको अटुट बन्धन कायम हुनुमा यस क्षेत्रको कला, संस्कृति र इतिहासको महत्वपूर्ण भूमिका भएको बताए। हिमालय पर्वत शृंखला र बंगलाको खाडीले नै यस क्षेत्रलार्इ आर्थिक, सामाजिक रूपमा नजिक ल्याएको भारतीय प्रधानमन्त्री मोदीले बताए।
उनले यस क्षेत्रका सात वटै देश विकासशील भएकाले सबैको प्राथमिकता शान्ति, समृद्धि र विकास भएको उल्लेख गरे। डिजिटल कनेक्टिभिटी, सडक, हवार्इ, रेलमार्ग, जलमार्ग र पिपुल टु पिपुल कनेक्टिभिटीमा जोड दिनुपर्ने मोदीको तर्क थियो।
मोदीले भने, 'सबै देशमा कनेक्टिभिटी तथा सम्पर्क बढाउनका लागि भारत स्टार्ट अप सम्मेलन गर्न भारत तयार छ। डिजिटल कनेक्टिभिटीको क्षेत्रमा सम्मेलन गर्नका लागि भारतल पहल गर्नेछ।' प्रधानमन्त्री मोदीले अक्टोबरमा हुने मोबाइल कांग्रेसमा सहभागी हुनसमेत सबै बिमस्टेक सदस्यलार्इ आग्रह गरे।
बिमस्टेकको कनेक्टिभिटी बढाउनका लागि साइन्स एन्ड टेक्नोलोजी सम्मेलन तथा प्रशिक्षणको समेत आयोजना गर्ने र बिमस्टेक देशका शोधकर्ता तथा अध्यापक र विद्यार्थीहरूलार्इ २४ वटा छात्रवृत्ति प्रदान गरिनेसमेत मोदीले प्रतिबद्धता जनाए।
भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक देशबीच सम्पर्कको विशेष कडी बौद्ध धर्म भएको बताउँदै अगस्ट २०२० मा भारतमा बौद्ध सम्मेलनको आयोजना गरिने जानकारी दिए।
भारतका आइटेक कार्यक्रमबाहेक पर्यटन, संस्कृति तथा कला र सामुद्रिक कानून, सेन्टर फर बे अफ बंगाल स्थापना गर्न सकिनेसमेत बताए। बिमस्टेक देशका आ-आफ्नै इतिहास र भविष्यको सम्भावना भएकाले आर्थिक प्रगति तथा सामाजिक रूपान्तरणमा एकले अर्कोलार्इ सघाउनुपर्ने बताए।
बिमस्टेक देशबीच शान्ति र सुरक्षाको वातावरण बनाउन सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै मोदीले भने, 'बाढी, पहिरो, सामुद्रिक आँधी, भूकम्पजस्ता विपदमा मानवीय सहयोग र समन्वय धेरै आवश्यक छ। यसमा सबैको सहयोग चाहिन्छ।'
उनले थपे, 'अर्थ व्यवस्थामा ब्लू इकोनोमीको विशेष महत्व छ। साइबर इकोनोमीको पनि उत्तिकै महत्व छ। यसका लागि भारत काँधमा काँध मिलाएर अघि बढ्न तयार छ।'
मोदीले दुर्इ दशकमा बिमस्टेकले धेरै प्रगति गरेको उल्लेद गर्दै भने, 'यस क्षेत्रमा धेरै सम्भावना छन्। हामी चौथो सम्मेलनपछि ठोस रूपमा अगाडि बढ्नुपर्छ। आयोजक राष्ट्र नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी सबैलार्इ अभिनन्दन छ।'
यो पनि पढ्नुहोस्,
बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव