शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने

जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा हुने

जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ। शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ।

National life

जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तर्क्रिया हुने साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन्।

फाउण्डेसनले जारी गरेको विज्ञप्तिअनुसार शे फोक्सुण्डोमा ‘हिमालबाट महिलाको आवाज, जलवायु न्यायका लागि महिला एकता र प्रकृतिमा आधारित पर्यटनको विकास’ शीर्षकमा विशेष अन्तर्क्रिया हुनेछ। जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्यापर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने भएका हुन्।

अध्यक्ष कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्न र त्यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शे फुक्सुण्डो पदयात्राको तयारी गरेको जानकारी दिए।

'यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित पर्यटन र स्थानीयको जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो', उनले भने, 'हामी घर, घरमा बसेर, आ–आफ्नो पेसा व्यवसाय अँगालेर बसेका नारी जलवायु परिवर्तन र जलवायु न्यायको मुद्दामा तथा महिलाको जनजीवनमा परेको अप्ठ्याराको विषयमा हिँड्दै समस्या सुन्दै, सुनाउँदै अघि बढिरहेका छौँ।'

एक साता लामो हुने पदयात्रामा समाजका विभिन्न क्षेत्रका अगुवा महिलाका साथै सङ्घीय, प्रदेश र स्थानीय सरकारका विभिन्न तहका सम्बद्ध अधिकारी, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता हुनेछ।

शे फोक्सुण्डो पदयात्रामा तराई मधेससहित विभिन्न प्रदेशबाट प्रतिनिधिमूलक रुपमा सांसद, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधि, डोल्पाका स्थानीय र सरोकारवाला पक्षसमेत सहभागी भई शे फोक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ। कार्यक्रममा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कर्णाली प्रदेश सरकार, फोक्सुण्डो गाउँपालिका र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य हुने आयोजकले जानकारी दिएको छ।

'कार्बन उत्सर्जनमा नगन्य योगदान भए पनि जलवायु परिवर्तनले नेपालको प्रकृति र सामाजिक जीवनमा देखिएका समस्या विश्वलाई सुनाउन चाहन्छौँ। नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहन्छौँ', अध्यक्ष कार्कीले भने, 'नेपाल प्राकृतिकरुपमा धेरै सुन्दर र सम्पन्न छ तर हामीले यसको दिगो उपयोग गरेर उचित लाभ लिन सकेका छैनौँ।'

पछिल्ला वर्षहरुमा नेपालमा मात्र होइन, जलवायु परिवर्तनको असर विश्वभर नै बढ्दो छ। हिमाल क्रमशः कालापत्थर हुँदैछन्। बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षाले ठूलो धनजनको क्षति हुन थालेको छ। खानेपानीका मुहान सुक्न थालेका छन्। तराई मधेसमा कृषि उब्जनीमा समस्या देखिएको छ। पहाडमा बेग्लाबेग्लै समस्या थपिएका छन्। नेपाल सरकारले त्यसलाई रोकथाम गर्न, जलवायु अनुकूलनका विभिन्न कार्यक्रम पनि ल्याएको छ। त्यसको प्रभावकारी कार्यान्वयनमा सबै साथसाथै जुट्नुपर्ने आवश्यकता छ।

यसै सन्दर्भमा कालापत्थर अभियानकै निरन्तरतास्वरुप हुन लागेको यस पदयात्रासहितको विशेष कार्यक्रम जलवायू परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित स्थानीय पर्यटन र जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हुने आयोजकको दाबी छ ।


साथसाथै फाउण्डेशनले गत मार्च ८ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा १४ दिने पदयात्रा सम्पन्न गरेको थियो। सो पदयात्रामा समाजका विभिन्न क्षेत्रका ४० प्रतिष्ठित अगुवा महिला सोलुखम्बुको लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रसम्म पैदल यात्रामार्फत पुगेर कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी १० बुँदे विशेष घोषणापत्र जारी गरिएको थियो। घोषणापत्र कार्यान्वयनका लागि सातै प्रदेशका विभिन्न स्थानमा यस किसिमका कार्यक्रम तथा अभियान यसअघि सम्पन्न गरिसकेको आयोजकले जनाएको छ।

प्रकाशित: Sep 03, 2022| 09:56 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।