काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग युरोपेली राष्ट्र इटालीका टेलिभिजन पत्रकार तथा टुर अपरेटरहरूले भेट गरी नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार मन्त्रालयमा भएको भेटमा इटालीको ट्राभल टिभीका प्रोड्युसर, वृत्तचित्र निर्माता तथा टुर अपरेटरहरूले मन्त्री श्रेष्ठसँग नेपालबारे इटालीमा प्रचार प्रसार गर्न इच्छुक रहेको बताएका हुन्।
नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता विश्वभर चिनाउन र विभिन्न रमणीय ठाउँहरूप्रति विदेशी पर्यटकको आकर्षण बढाउन नेपालबारे नि:शुल्क रूपमा वृत्तचित्र तथा टेलिभिजन कार्यक्रम निर्माण गर्ने उनीहरूको भनाइ थियो।
नेपालबाट इटालीको सीधा उडान नहुनु तथा दूतावास नहुँदा नेपाल आउन चाहने इटालियन पर्यटकलाई असुविधा भएको समेत उनीहरूको भनाइ छ।
इटाली तथा मोरक्कोमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका ब्रुनो अलेगीले नेपालबारे इटालीमा प्रवर्द्धनात्मक अभियान चलाउन आफूले सहयोग गर्ने बताए। टेलिभिजन कार्यक्रम निर्माता उबाल्डो पेट्रोसिनोले इटालीको स्थानीय भाषामा सन्देशहरू निर्माण गरी नेपालबारे प्रवर्द्धन गर्ने बताए।
मन्त्री श्रेष्ठले नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त रहेको बताउनुहुँदै पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्न उपयुक्त मुलुक रहेको बताए। नेपाल पर्वतीय पर्यटनका लागि मात्र नभएर प्राकृतिक सुन्दरता, सम्पदा, जातीय तथा जैविक विविधता जस्ता कारणले बाह्रै महिना पर्यटनका लागि योग्य छ भन्ने सन्देश विश्व बजारमा प्रवाह गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ।
ट्राभल टिभीका प्रोड्युसर, वृत्तचित्र निर्माता तथा टुर अपरेटरहरूले इटालीको स्थानीय भाषामा भिडियो सन्देशहरू निर्माणका लागि नेपालका विभिन्न स्थानमा छायांकन गर्नेछन्।