धनगढी-प्रदेशको राजधानी धनगढी र अत्तरीया मध्ये एक ठाउँमा हुने निश्चित प्राय भएपछि यो क्षेत्रमा जग्गाको कारोबार अत्याधिक बढेको पाईएको छ ।
धनगढीलाई प्रदेशको अस्थायी राजधानी तोकेसँगै बढेको जग्गाको कारोबार स्थायी राजधानी पनि यतै हुने लगभग पक्का जस्तै भए पछि जग्गाको कारोबार अत्याधिक बढेको हो । धनगढी र अत्तरीयाको बीचमा पर्ने गेटा, श्रीपुर, बेलादेबिपुर लगायतका ठाउँमा एक बर्षको समयमा जग्गाको किनबेच अत्यधिक बढेको छ ।
धनगढी र अत्तरीया बजार क्षेत्र भित्र जग्गाको मुल्य अत्याधिक बढेपछि जग्गाको किनबेच गराउने दलालहरुको सक्रियता ती ठाउँहरुमा बढेको छ । बजार क्षेत्र आसपासमा एक त खाली जग्गा नै छैन भने भएका जग्गाको मुल्य अत्याधिक हुँदा सस्तो मुल्यमा जग्गा खोज्नेहरुको ध्यान धनगढी अत्तरिया बीचमा पर्ने गरेको यसका कारोवारीहरु बताउछन् ।
जिल्ला मालपोत कार्यालय कैलालीका सूचना अधिकारी प्रेमबहादुर माझीले धनगढी र अत्तरीयाको बीच क्षेत्रमा पछिल्लो समय जग्गाको कारोबार अन्य क्षेत्रको तुलनामा निकै बढेको जानकारी दिए । ‘पछिल्लो एक बर्षको अवधिमा ति क्षेत्रमा जग्गाको कारोबार बढिरहेको छ’ माझीले भने-‘राजधानी हुने भनेर हो कि किन हो तर जग्गाको खरिद बिक्रि बढ्दो छ ।’
गेटा, श्रीपुर, बेलादेबिपुर लगायतका ठाउँमा रहेको खेतीयोग्य जमिन जग्गा दलालहरुले प्लटिङ गर्दै घडेरीको रुपमा बिक्रि गरिरहेका छन् । बेलादेबिपुरका लालबहादुर रानाले जग्गा किनबेच गराउने दलाल र किन्ने मान्छे छ्याप्छ्याप्ती आउने गरेको बताए । ‘जग्गा दलालहरु तपाईहरुसँग जग्गा भए हामी महंगो मुल्यमा बिक्रि गरिदिन्छु भनेर आउने गर्दछन्’ रानाले भने-‘खेतीयोग्य जमिन धमाधम प्लटिङ गर्दै घडेरीको रुपमा बिक्रि हुनेक्रम बढेको छ ।’
जग्गाको किनबेचमा संलग्न एक जनाले धनगढी बजार क्षेत्रमा जग्गाको मुल्य निकै महंगो भएकाले पछिल्लो समय जग्गा खोज्नेहरुका लागि गेटा, बेलादेबिपुर, श्रीपुर लगायतका ठाउँ नै आकर्षक रहेको सुनाए । ‘बजार क्षेत्रमा छिटपुट रुपमा मात्र जग्गा बाँकी छ त्यो पनि महंगो छ’ उनले भने-‘जग्गा चाहियो भन्नेहरु धेरै आउछन् त्यसैले बजार क्षेत्र बाहिर जानु परेको हो ।’
थुप्रै दलालले एउटै जग्गा धेरै व्यक्तिलाई देखाउने गरेको पाईएको छ । जग्गा दलालहरुकै कारणले जग्गाको मुल्य अत्यधिक बढेको जानकारहरु बताउछन् ।
‘दलालहरुले बास्तविक मुल्य भन्दा एउटै कठ्ठामा तीन चार लाख रुपैँया सम्म कमिसन खाने गरेको पाईयो’ जग्गा किन्न अछामबाट आएका हेमराज ढुंगानाले भने-‘एउटै जग्गा धेरै दलालले देखाउने र दलालैपिच्छे मुल्य पनि फरक-फरक हुने गरेको छ ।’
प्रदेश राजधानीको चर्चासँगै धनगढी र अत्तरीयालाई जोडेर महानगरपालिका बन्ने संभावना देखिएपछि पनि यस बीचमा जग्गा किन्न खोज्नेहरु बढेका हुन् । लगानीका अन्य क्षेत्र प्राय नहुँदा आफ्नो आयस्रोत अनुसार अधिकांश मानिसले जग्गा किन्ने कुरालाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाईएको छ ।
प्रदेश ७ का पहाडी जिल्लाबाट यतिबेला धनगढीमा जग्गाका किन्न आउनेहरुको संख्या अत्याधिक छ । जग्गामा गरेको लगानी सुरक्षित हुने भएकाले आफूले कमाएको पैँसाले प्रायले जग्गा किन्ने गर्दछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४