काठमाडौं- 'शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ' भन्ने मुलनाराका साथ बिमस्टेकको चौथो शिखर सम्मेलनको दिउँसो तीन बजेपछि उद्घाटन हुँदैछ।
बिमस्टेक सम्मेलनको औपचारिक उद्घाटन भने दिउँसो करिब तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा उद्घाटन सत्रमा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले १५-१५ मिनेट मन्तव्य राख्नेछन्।
सम्मेलनमा बिमस्टेक क्षेत्रमा प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिमस्टेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ।
सम्मेलनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्न व्यापार, ऊर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गरिने भएको छ । सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा ऊर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ ।
बिमस्टेक राष्ट्रबीच स्थल र जलमार्गको कनेक्टिभिटीका लागि गुरुयोजना बनाउने काममा सम्मेलनले महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा छ । क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनीति पहिल्याई त्यसलाई कार्यान्वयन गर्नेबारे सातै देशका राष्ट्ररसरकार प्रमुखबीच छलफल हुने एजेन्डा छ ।
स्थापनाको दुई दशक पुगिसक्दा पनि बडापत्र तथा कानुनी दस्तावेजविहीन अवस्थामा चल्दै आएको बिमस्टेकलाई थप मजबुत बनाउने निर्णय सम्मेलनले गर्नेछ । त्यसअनुसार सम्मेलनले बडापत्र निर्माण र संयुक्त लगानी कोष स्थापना गर्न काठमाडौं घोषणापत्र जारी गर्नेछ ।
सम्मेलनमा भाग लिन बिहानै सबै सदस्य राष्ट्रका प्रमुखहरु नेपाल आइपुगेका छन् । सम्मेलनका लागि अस्ति मंगलबार म्यानमारका राष्ट्रपति विन मिन्त, हिजो बुधबार भुटानका अन्तिरिम मन्त्रीपरिषद्का अध्यक्ष ल्योन्पो छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरीसेना आएका थिए ।
सम्मेलन हुने दिन आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान साढे ८ बजे आए भने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिहान साढे ९ बजे नेपाल ओर्लिएकी थिइन् । सबैभन्दा पछि भने थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा– बिहान सबा १० बजे आइपुगेका हुन् ।
बिमस्टेक सम्मेलनमा आएका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आज मध्यान्न सामूहिक शिष्टाचार भेटवार्ता गरेकी छन् । भने उनीहरुका लागि स्वागतमा दिवाभोजको समेत आयोजना गरेकी छिन् ।
दिवाभोज सकेर सदस्य राष्ट्र तथा सरकार प्रमुखहरु कार्यक्रम स्थल सोल्टी होटल फर्किएका छन् । उनीहरुले केहिबेर सोल्टीमै आराम गर्ने छन् भने बिमस्टेक सम्मेलनको औपचारिक उद्घाटन भने दिउँसो करिब तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा उद्घाटन सत्रमा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साँझ करिब छ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिन्छ । त्यसपछि अतिथिहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।
शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुखरराष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ आयोजना गरेका छन् । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।
यो पनि पढ्नुहोस्,
बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४