काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)मा हालै नियुक्त भारतीय प्रशिक्षक मनोज प्रभाकरले आफ्नो पाँच टी–२० खेल पूरा गरेका छन्। उनको सुुरुआती पाँच खेलमध्ये तीन खेलमा नेपालले जित निकालेको छ भने दुई खेलमा हार बेहोरेको छ।
भारतीय टिममा आफ्नो समय ओपनिङ ब्याटिङ र बलिङमा जमेका प्रभाकरले नेपाली टिमको ब्याटिङ प्रदर्शन सुधार गर्ने विश्वास गरिएको छ। उनले पनि त्यसलाई सुधार्ने बताउँदै आएका छन्।
उनले सुरुका पाँच खेलमा धेरै प्रयोग गरिरहेका छन्। पाँच खेलका दौरान उनले १५ खेलाडीलाई टिममा प्रयोग गरिसकेका छन् भने अर्जुन साउदलाई अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गराएका छन्।
अर्जुनले अहिलेसम्म तीन खेल खेले। यी खेलमा १९ वर्षे खेलाडीले ३५, ६ र २९ रन बनाएका छन्। ‘खेलमा अर्जुनले पनि राम्रो खेलेका छन्। उनले डेब्यूपछि ब्रिलियन्ट प्रदर्शन गरे। पहिलो खेलमै आएर यसरी प्रदर्शन गर्न सक्नु ठूलो कुरा हो,’ अर्जुनको प्रदर्शनबारे पूर्वकप्तान ज्ञानेन्द्र मल्लले भनेका छन्।
अर्जुनबारे सन्दीपले भनेका छन्, ‘उनको डेब्यू खेल हेर्दा पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेजस्तै लागेको छैन। उनले राम्रो खेलिरहेका छन्।’
प्रभाकरको प्रशिक्षणमा नेपाली टिमका कप्तान सन्दीपले पनि पाँच खेलमा क्रमशः दुई, तीन, शून्य, पाँच र दुई(जम्मा १२) विकेट लिएका छन्। ती खेलमा उनले पूरा ओभर बलिङ गर्दै ३३, २६, ४२, ९ र २६ रन दिएका छन्। नेपाली टिमबाट जहिल्यै उत्कृष्ट प्रदर्शन गर्ने सन्दीपको यो सिरिजमा पनि प्रदर्शन उस्तै रहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पाँच खेलमा १५ जना खेलाडीलाई टिममा प्रयोग गरिसकेका छन् भने अर्जुन साउदलाई अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गराएका छन्।
सन्दीप उच्च विकेट टेकर बन्दै म्यान अफ द सिरिजसमेत भए।
नेपाली टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेपाली समर्थकमाझ जहिल्यै पनि कमजोर ब्याटरका रूपमा चिनिएका छन्। तर यो सिरिजमा एक मात्र अर्धसतक बनाउने खेलाडीमा ज्ञानेन्द्र मात्र रहे। ‘व्यक्तिगत स्कोरभन्दा पनि टिममा कति काम गर्न सकिन्छ भन्ने नै हो। मेरो प्रदर्शनसँगै जित निकाल्दा खुसी छु,’ सिरिज सकिएपछि ब्रोडकाटरसँगको कुराकानीमा ज्ञानेन्द्रले भनेका छन्।
ज्ञानेन्द्र पाँच खेलमा दुई फरक भूमिकामा मैदान छिरेका छन्। सुरुका चार खेलमा तेस्रो नम्बरमा मैदान प्रवेश गरेका उनले क्रमशः २३, १, ४६ र ६ रन बनाएका थिए। तर अन्तिम खेलमा प्रभाकरले ज्ञानेन्द्रलाई ओपनिङमा ल्याए। त्यही खेलमा ज्ञानेन्द्रले सात बाउन्ड्रीसहित ५९ रन बनाए।
जुन खेलमा ज्ञानेन्द्र राम्रो खेले, त्यो खेलमा नेपालले जित्यो। १ र ६ रनमा आउट भएको दिन नेपाल पनि पराजित भयो। त्यसैले नेपाली टिम अझैसम्म पनि सिनियर खेलाडीमा भर पर्ने गरेको देखिएको छ।
अन्तिम खेलपछि ज्ञानेन्द्रले भनेका छन्, ‘मलाई लाग्छ, यो क्रिकेट लगातार अघि राख्न तयार छु।’ अघिल्ला चारै खेलमा लक्ष्य पछ्याएको नेपालले अन्तिम खेलमा सुरुआती ब्याटिङ गरेको थियो। जित निकाल्नैपर्ने दबाब थियो त्यो खेलमा। ‘हामीलाई अन्तिम खेलमा राम्रो सुरुआत चाहिएको थियो। हामीले त्यो गर्न सक्यौं अनि जित नजिक पुग्यौं,’ उनले भनेका छन्।
त्यसो त, ज्ञानेन्द्र ३६ वर्षका भइसके पनि क्रिकेट खेलिरहेका छन्। अब उनको टिममा ज्ञानेन्द्रका आधा उमेरका खेलाडी पनि आउन थालिसकेका छन्। तर उनीहरूसँगै आफू अघि बढ्ने बताउँछन्, ज्ञानेन्द्र।
ओपनरको खोजीमा प्रभाकर
यी दुई खेलाडीले त्यो खेलमा चार रनको मात्र साझेदारी गर्न सके। दोस्रो खेलमा पनि त्यही जोडी मैदानमा देखियो, जसमा उनीहरूले १० रनको मात्र साझेदारी गर्न सके। उनको पहिलो दुई प्रयोग सफल हुन सकेन।
तेस्रो खेलमा उनले ओपनिङ जोडी बदले। आसिफलाई बेन्चमा राख्दै अर्जुनलाई पहिलो पटक अवसर दिए। त्यो खेलमा नेपालले ३५ रनको साझेदारी गरेको छ। चौथो खेलमा उनले ओपनिङ जोडी त्यही राखे। तर पवन सर्राफ पहिलो बलमै आउट भए।
त्यसैले होला, उनले पहिलो खेलमा प्रयोग गरेका दुवै ओपनर अन्तिम खेलमा प्रयोग गरेनन्। अन्तिम खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले ६५ रनको ओपनिङ साझेदारी गरे।
पछिल्ला धेरै खेलपछि नेपालले ओपनिङमा यति लामो साझेदारी गर्न सकेको हो। ओपनिङमा लामो समयपछिको ठूलो साझेदारीसमेत हो। यता, अहिलेसम्मकै ठूलो साझेदारी (दीपेन्द्रसँग १४७) रन बनाउने भुर्तेल भने टिममा छैनन्। उनलाई छाडेर ओपनिङ ब्याट्सम्यान सेट गर्न प्रभाकरलाई गाह्रो भएको छ।
ओपनिङमा नेपालको टिममा देखिँदै आएका आसिफले दुई खेलमा मात्र अवसर पाए। पहिलो खेलमा ३४ र दोस्रोमा पाँच रन बनाए। पाँच वटै खेलमा अवसर पाएका पवनले चार खेलमा ओपनिङ गर्द १, १९, २० र ० रन बनाए। अन्तिम खेलमा पवन पाँचौं नम्बरमा मैदान प्रवेश गरेका थिए। त्यो खेलमा पनि उनले एक रन मात्र जोडे।
प्रभाकरले पाँच खेलको ओपनिङमा तीन फरक प्रयोग गरेका छन्। उनले पहिलो खेलमा पवन सर्राफ र आसिफ शेखलाई ल्याएका थिए। पूर्वप्रशिक्षक पुबुद दाशानायकेले पनि कुशल भुर्तेलको अभावमा राख्ने गरेको ओपनिङ ब्याट्समेन हुन्, यिनीहरू।
यो सिरिजमा महत्त्व पाएका पवन फ्लप भए।
यो सिरिजको चार खेलमा ज्ञानेन्द्र तेस्रो नम्बरमा खेलेका छन्। उनले २३, १, ४६ र ६ रन बनाए। ती खेलका दौरान रोहित पौडेल र दीपेन्द्रले चार र पाँच नम्बरमा ब्याटिङ गरे। चार नम्बरमा मैदानमा रोहितले पाँच खेलमा ब्याटिङ गरे भने पाँच नम्बरमा एक पटक उनले सिरिजमा राम्रो प्रदर्शन गर्दै दुई खेलमा अर्धसतक बनाउन तीन रनले चुके। बाँकी खेलमा १३, २० र २९ रन बनाए।
६ नम्बरमा ब्याटिङ ट्राई गरिरहेका युवा खेलाडी मोहम्मद आदिल आलमले पनि अलराउन्डमा औसत मात्र प्रदर्शन गरेका छन्। उनले सिरिजका सबै खेल खेलेर ५० रन जोडे भने पाँच विकेट लिए।
मध्यक्रममा नेपालका भरपर्दा ब्याट्सम्यान हुन्, दीपेन्द्र। तर अहिले उनलाई अलराउन्डरका रूपमा हेरिन्छ किनभने उनी बलिङमा पनि उत्तिकै पोख्त छन्। तर यो सिरिजमा उनको प्रदर्शन औसत मात्र रह्यो। ब्याटिङ र बलिङ दुवैमा योगदान गरे पनि पहिलेझैं ब्याट चलाउने भने सकेनन्।
तेस्रो, चौथो र पाँचौं(तीन पटक)नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले क्रमशः ३३, ३, ६, ६ र २२ रन बनाए भने पाँच खेलमा ६ विकेट लिए।
नेपालविरुद्ध बलिङ
नेपालविरुद्धको केन्याका बायाँहाते अर्थोडक्स बलर भ्रज पटेल चम्किए। उनले पाँच खेलका समान ४–४ ओभरमा समान २–२ विकेट गिराए। प्रायः नेपाली ब्याटरहरू बायाँहाते बलरबाट तर्सने गरेका छन्। ओमनका बिलाल खान, अमेरिकाका सौरभ नोत्राभल्कर, यू्एईका अहमद राजा यसका उदाहरण हुन्।
यो सिरिजमा पनि यस्तै भएको छ। एग्वेएन ओचिएन्डलले पनि नेपालविरुद्ध पाँच विकेट लिएका छन्। उनी दायाँहाते मिडियम बलर हुन्।
‘चौथो खेलमा हाम्रा ब्याट राम्रो भएन। हामीले सजिलो लक्ष्य पनि पूरा गर्न सकेनौ। यस्तो अवस्थामा हाम्रो स्तर केहो भन्ने सम्झेर प्रदर्शन गर्नुपर्ने हुन्छ,’ सिरिजको चौथो(दोस्रो हार) पछि कप्तान सन्दीपले भनेका छन्, ‘हामी हाम्रो पेटेन्सियलअनुसार खेल्न सकेनौं।’
उनले सिरिजको हारलाई सिक्ने बाटो भएको बताएका छन्। चौथो खेलमा नेपालले १०२ रनको लक्ष्य पछ्याउने क्रममा ७ रनको हार बेहोरेको थियो। त्यस्तै, दोस्रो खेलमा १३२ रनको लक्ष्य पछ्याउन नसकेको नेपालले तेस्रो खेलमा भने १५७ रनको लक्ष्य १६० रन बनाएर पूरा गरेको थियो।
नेपालले आयोजक केन्याविरुद्ध अन्तिम खेलमा मात्र जित निकाल्दै सिरिज ३–२ ले आफ्नो नाममा गरेको थियो। केन्याको जिमखाना क्रिकेट मैदानमा नेपालले तीन खेलको एकदिवसीय सिरिज पनि खेलिरहेको छ।
अन्तिम खेलमा सानदार प्रदर्शन गरेको नेपालले पूरा ओभर खेल्दै केन्यालाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफमा नेपाली बलरले केन्यालाई १४४ रनमै रोके।
सोही खेलको ओपनिङमा अर्जुन र ज्ञानेन्द्रले ६५ रनको साझेदारी गरेका हुन्। मल्लसँग दीपेन्द्रले पनि ४० रनको साझेदारी गरे। नेपालका लागि ठूलो रन जोड्ने क्रममा रोहित पौडेलले २५ बलमा ४७ रन जोडेका थिए।
नेपालले सिरिजको पहिलो खेलमा पाँच विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १८ रनको हार बेहोरेको थियो। त्यस्तै, तेस्रो खेलमा चार विकेटको जित निकालेको नेपालले चौथो खेलमा ७ रनको हार बेहोरेको थियो।