शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चुरोट र तासको आयात खुल्यो, मदिरालगायत चार वस्तुको प्रतिबन्ध कायमै

चुरोट र तासको आयात खुल्यो, मदिरालगायत चार वस्तुको प्रतिबन्ध कायमै

सरकारले केही संशोधनसहित विलासी वस्तु आयातमा लगाइएको प्रतिबन्ध कायमै राखेको छ। विदेशी मुद्रामा बढी दबाब पर्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा लगाइँदै आएको प्रतिबन्ध २८ असोजसम्म थप भएको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- सरकारले केही संशोधनसहित विलासी वस्तु आयातमा लगाइएको प्रतिबन्ध कायमै राखेको छ। विदेशी मुद्रामा बढी दबाब पर्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा लगाइँदै आएको प्रतिबन्ध २८ असोजसम्म थप भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चुरोटको आयात भने खुलेको छ। यसअघि सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध यथावत् राखेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुरकुरे, कुरमुरे, लेज र यस्तैखाले अन्य उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ। कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका अन्य उत्पादनको आयात पनि खुलेको छ।

सरकारले १३ वैशाखको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौसम्मका लागि प्रतिबन्ध थप गरेको थियो। यसबीचमा व्यवसायीहरुले महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात खुलाउन सकारलाई दबाब दिँदै आएका थिए। तर, विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजी नभएपछि प्रमुख विलासी वस्तुको आयातलाई यथावत् राख्दै अन्य ६ वस्तुको आयात प्रतिबन्ध भने हटाउने निर्णयमा सरकार पुगेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ।

प्रकाशित: Aug 30, 2022| 20:27 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्