काठमाडौं-परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा देखिएको जलवायुजन्य विपत्तिलाई मानवीय संकटसँगै विकास, न्याय र अस्तित्वको संकटका रूपमा लिनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिवको जलवायु कार्य तथा न्यायोचित रूपान्तरणसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालले भोगेको विपत्तिलाई ‘हिमाली सुनामी’को संज्ञा दिएका छन्।
उनले यो आफूहरूले देखेको सबैभन्दा दुःखद हिमाली विपत्ति भएको उल्लेख गर्दै अहिले देखिएको विनाश मात्र शोकको विषय नभई विश्व समुदायले बेवास्ता गरिरहेमा भविष्यमा अझ ठूलो खतरा उत्पन्न हुने चेतावनी दिएका छन्।
मन्त्री खनालले नेपालको जलवायु विपत्तिले वर्षौँको प्रयासबाट हासिल भएका विकासका उपलब्धिसमेत उल्ट्याइरहेको बताएका छन्। उनका अनुसार यो अवस्था मानवीय आपत्काल मात्र नभई विकास, न्याय र अस्तित्वसँग जोडिएको संकट हो। उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्। त्यसका लागि सहज रूपमा उपलब्ध हुने जलवायु वित्त, अनुकूलनका कार्यक्रम विस्तार, पूर्वसूचना प्रणालीको विकास तथा सुलभ प्रविधिको पहुँच आवश्यक रहेको बताएका छन्।
मन्त्री खनालले जलवायुजन्य क्षति र नोक्सानीका लागि पर्याप्त स्रोतसहितको कोष आवश्यक रहेको पनि बताएका छन्। उनले विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने लक्ष्य कायम राख्न विश्व समुदायले थप प्रभावकारी र ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।