काठमाडौं– राष्ट्र बैंकले आउँदो दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकले २६ भदौदेखि बजारमा पठाउने गरी सो परिमाणको नयाँ नोटको व्यवस्थापन गर्ने भएको हो।
२६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराउने तयारी भए पनि औपचारिक निर्णय भइनसकेको राष्ट्र बैंकका मुद्रा व्यवस्था विभाग प्रमुख रेवती नेपालले बताए। ‘यसपालि सुकिला नोटको पर्याप्त व्यवस्था गरिएको छ। बजार मागअनुसार नोटको वितरण हुन्छ,’ उनले भने।
गत वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको सुकिला नोट बजारमा पठाएको थियो। प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेर सुकिला नोट वितरण गरेको बैंकले यस वर्ष भने सीमा नलगाउने बताएको छ। गत वर्षमा जस्तै यस वर्ष पनि बैंकले ५, १०, २०, ५० र १०० गरी पाँच वटा खुजुरा सुकिला नोट बजार पठाउनेछ।