काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर कर्जामा १२ करोडको सीमासमेत हटाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले एकाघर परिवारले एक बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड कर्जा लिन पाउने व्यवस्थामा परिमार्जन गरेको छ। एक बैंक तथा वित्तीय संस्थाबाट लिन पाउने ४ करोडको सीमालाई बढाएर १२ करोड मौद्रिक नीति मार्फत कायम गरिएको छ। उक्त १२ करोडको सीमालाई पनि राष्ट्र बैंकले हटाउने संकेत गरेको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ४/१२ करोडको नीति लिएको र अहिले ४ हटाएर १२ कायम राखेको भए पनि १२ पनि हटाउन खोजिरहेको बताए। 'राष्ट्र बैंकले सेयर कर्जामा सीमा तोकेर लगानीकर्ताको गाली खानुपरेको छ। यसलाई ४/१२ को नामाकरण नै गरिएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत ४ करोडको सीमा हटाएको छ। अब छिट्टै राष्ट्र बैंकले १२ करोडको सीमा पनि हटाउने तयारी गरिरहेको छ', डा. श्रेष्ठले भने।
उनले ब्रोकरहरुले नै मार्जिन ट्रेडिङ कारोबार गर्न पाउनुपर्नेमा जोड दिए। पुँजी बजार बैंकल्पिक कारोबारका रुपमा अगाडि आउनुपर्नेमा र स्रोतको व्यवस्थापन आफैंले गर्न सक्नुपर्नेमा उनले जोड दिए। मुद्रा बजार र पुँजी बजार दुबै स्रोत व्यवस्थापनमा शसक्त हुनुपर्ने भन्दै उनले पुँजी बजारको स्रोत व्यवस्थापनको दायित्वबाट बैंक तथा वित्तीय संस्था मुक्त हुनुपर्ने बताए। कार्यक्रममा उनले मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंकले गर्ने काम समयमा नै सम्पन्न गर्न तयार रहेको जानकारी गराए।
कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले सेयर बजार विस्तार गर्न ब्रोकरको शाखा मात्रै विस्तार गरेर नपुग्ने र सँगसँगै वित्तीय साक्षरता पनि आवश्यक रहेको बताए। आचार्यले ब्रोकरले खोल्ने भनेको सब ब्रोकरको लागि बोर्डले निर्देशिका सशोधन गरिरहेको जानकारी गराए।
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जय फुँयालले मार्जिन कारोबारका लागि कार्यविधिले मात्रै नपुग्ने धितोपत्र बोर्डले वियमावली नै जारी गर्नुपर्ने बताए। बोर्डको निर्देशनपछि नेप्सेले वैशाख १५ गते मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि जारी गरेको छ। मार्जिन कारोबारका लागि यतिले मात्रै नपुग्ने उनको भनाइ छ।
फुँयालले मार्जिन कारोबारका लागि सोर्स अफ फण्डको समस्या रहेको, ब्रोकरले कर्जा दिँदा उनीहरुको खर्च पनि बढ्ने बताए। उनले मार्जिन कारोबार सुरु भएपछि मार्जिंन र ट्रेड्रिङ खाता फरक फरक हुनुपर्ने धारणा राखे।
बोर्डका निमित्त कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मार्जिन कारोबार गर्नका लागि दुई वटा डिम्याट खाता हुनुपर्ने र त्यसले पुँजीगत लाभकर गणना गर्न सजिलो हुने उल्लेख गरे। कार्यक्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले मार्जिन कारोबार गर्नका लागि दुई वटा खातो खोल्न नेप्सेको सिस्टमले नदिएको गुनासो गरे।
मार्जिन कारोबार भएपछि पुलमा पैसा राख्ने व्यवस्था गरेको स्मरण गराउँदै त्यो पैसामा कसको स्वामित्व हुने, लभकर ओषतमा गणना गर्ने, मार्जिन कारोबार बाट किनेको सेयर र अन्य सेयर एकै ठाउँ हुने हुँदा गणनामा समस्या हुने रेग्मीको भनाइ छ। २ वटा खाता खोल्न नेप्सेको सिस्टमले दिने हो भने मार्जिन कारोबार गर्न समस्या नआउने उनको बुझाइ छ। ब्रोकरले ल्याउने टिएमएसमा यस्तो सुविधा हुने उनको भनाइ छ।
कार्यक्रममा ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डको अहिलेको ऐन कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान समस्या भएका बताए।
बजार विकास विस्तारका लागि ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने उनको भनाइ छ। भारतमा ब्रोकरको १५/२० वटा शाखा हुनेको हजार भन्दा बढी सब ब्रोकर रहेको स्मरण गराए। उनले नेपालमा पनि त्यो मोडलमा काम गर्न खोज्दा समस्या भएको बताए। उनले शाखा खोल्न, आधिकारिक प्रतिनिधि राख्ने विषयमा धितोपत्र बोर्डले समयमा काम नगरेको दाबी गरे। अधिकारीक प्रतिनिधि राख्ने विषयमा बोर्डले अध्ययन गरेको त्यो अध्ययन अहिले निस्कृय बनेको अध्यक्ष मैनालीले जानकारी गराए। ब्रोकरको करोडौ लगानी भएकोले काठमाडौंमा मात्रै बसेर नपुग्ने भन्दै काठमाडौं बाहिर जान नदिने हो भने व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने धारणा राखे।
ब्रोकरलाई ब्रान्चलेस बनाउने हो भने सेयर बजार सबै नेपालीको घरघरमा पुग्ने उनको तर्क छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले ‘मार्जिन लेन्डिङ कन्सेप्ट, प्राक्टिस र मोडल’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै डा. भट्टले सेयर बजारमा लगानी गर्नु चूनौती पूर्ण रहेको र चूनौतीको समना गरेर लगानी गरे प्रतिफल पनि राम्रो पाउन सकिने बताए।
बजारलाई स्थिर बनाउन, बजारमा लगानीयोग्य रकम (तरलता) प्रवाह गर्न मार्जिन कारोबार सुरु गर्न आवश्यक रहेको सुझाव दिए। यो सुरु गरेको खण्डमा दीर्घकालिन रुपमा बजारको विकास गर्न सघाउ पुग्ने तर्क गरे।
नेपालमा सेयर धितो राखेर ऋण लिएपनि त्यो ऋण कहाँ लगानी गर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था नरहेको गुनासो गरे। डा. भट्टले नेपालमा सेयर धितो राखेर लिएको ऋण सेयर बजारमा नै लगानी गर्नुपर्ने बाध्यात्मक अवस्था नरहेको उल्लेख गरे। ‘सेयर धितो राखेर लिएको ऋणले सेयर किन्नुपर्छ भन्ने छैन’ उनले भने,‘त्यो पैसा जहाँ लगानी गरेपनि कानूनले केही भन्दैन। यसमा कानून नै स्पष्ट छैन।’
धितोपत्र बोर्डको निर्देशनको आधारमा नेप्सेले कार्यविधि जारी गरेको र त्यसको आधारमा मात्रै मार्जिन कारोबार सुरु गर्दा ब्रोकरले गर्ने कर्जा लगानीमा पनि पनि कानूनी जटिलता आउने तर्फ डा. भट्टले सचेत गराए। उनले धितोपत्र बोर्ड, राष्ट्र बैंक, नेप्से, ब्रोकर, बैंकर्स बसेर मार्जिन कारोबार छिटो सुरु गर्न सुझाव दिए। मार्जिन कारोबार सुरु गर्दा राष्ट्र बैंकले इमान्दार भएर हेर्नुपर्ने, ब्रोकर कम्पनी नैतिक हुनुपर्ने, सेबोनले कानुनी अडचल फुकाउनु पर्ने उनको सुझाव रहको छ।
यस्तै कार्यक्रममा सेयर बजारका विज्ञ मनोज शाहीले ‘पुँजी बजारको भौगोलिक विस्तार’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे। उनले पुजी बजार विकासका लागि उपयुक्त प्रविधि आवश्यक रहेको बताए। सेयर बजार विस्तारका लागि प्रविधि राम्रो हुनुपर्ने र त्यसले बजारमा देखिएका धेरै समस्या समाधान गर्ने बताए। नेपालमा कतिपय लगानीकर्ताले मोबाइल ट्रेडिङ सुरु गरेको भन्दै अब त्यही अनुसारको प्रविधिको विकास आवश्यक भएको उनको तर्क छ।