काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको मुख्यालयमा फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा भएको भेटमा मन्त्री खनालले नेपाललाई सहयोग र ऐक्यबद्धता व्यक्त गरेकोमा फिनल्यान्ड सरकार र जनताप्रति आभार व्यक्त गरेका छन्।
उनले भोटेकोसी विपत्तिपछि नेपालले अघि बढाइरहेको उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासबारे जानकारी गराएका छन्। साथै नेपालले सन् २०४५ सम्म शून्य खुद कार्बन उत्सर्जन हासिल गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
भेटमा फिनल्यान्डका विदेशमन्त्री भाल्टोनेनले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न फिनल्यान्ड तयार रहेको बताएकी छन्।
उनले जलवायु परिवर्तनसम्बन्धी कार्य, प्रविधि तथा विकासका अनुभव र सफल अभ्यास आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्नुपर्नेमा जोड दिएकी छन्।