काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सिनेटर मोहम्मद इशाक दारबिच संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उनीहरूबिच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले नेपाल र पाकिस्तानबिच रहँदै आएको सौहार्दपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध पक्षबारे विचार आदान—प्रदान गरे।
उनीहरूले नेपाल–पाकिस्तान सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए। द्विपक्षीयसँगै बहुपक्षीय तहमा समेत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
विशेष गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पाकिस्तानबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षले जोड दिए।