शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजी बजारको विकासका लागि बोर्ड र नेप्सेको स्वायत्तता जरुरी : अध्यक्ष हमाल

पुँजी बजारको विकासका लागि बोर्ड र नेप्सेको स्वायत्तता जरुरी : अध्यक्ष हमाल

धितोपत्र बोर्ड, नेप्से दुवै निकाय अर्थ मन्त्रालयअन्तर्गतका विभागजस्तो भएर बस्दा बजारको विकास पछि परेको हमालको तर्क।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं– नेपाल  धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन्। पुँजी बजारको नियामकीय निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्ज(नेप्से) दुवैले स्वतन्त्र ढंगबाट काम गर्न सके मात्रै पुँजी बजारको विकास हुने हमालको भनाइ छ। 

‘सेयर बजारको विकास र विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन। संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन्, हामी स्वायत्त छैनौं,’ उनले भने, ‘हामी अर्थ मन्त्रालयको विभागजस्ता छौं।’

धितोपत्र बोर्ड, नेप्से दुवै निकाय मन्त्रालयअन्तर्गतका विभागजस्तो भएर बस्दा बजारको विकास सम्भव नभएको हमालको तर्क छ। अहिलेको अवस्थामा सेयर बजारमा कायालपट गर्छु भनेर सोच्न नसकिने उनको दाबी छ। 

‘नेप्से मन्त्रालयको शाखाजस्तो भएपछि विश्वासयोग्य काम गर्न सक्छ कि सक्दैन? धितोपत्र बोर्ड पनि मन्त्रालयको शाखाजस्तो भएपछि लगानीकर्ता, ब्रोकरले चाहेजस्तो द्रुत गतिमा काम गर्न सक्दैन,’ अध्यक्ष हमालले भने, ‘त्यस कारण हामीले स्वायत्तताका लागि सरकारसँग कुरा गरिरहेका छौं। हामी सबैले चाहेजस्तो सुधारका लागि काम गरिरहेका छौं।’

अध्यक्ष हमालले बोर्ड, नेप्से स्वायत्त भएनन् भनेर चुप लागेर पनि नबसेको धारणा राखे।  उनले अहिलेको बाध्यात्मक अवस्थाका बाबजुद पनि गर्नुपर्ने काम तीव्र गतिमा भइरहेको दाबी गरे। अध्यक्ष हमालले सेयर बजारको विकास र विस्तारका लागि प्रतिस्पर्धा आवश्यक रहेको बताए। बजारमा एकाधिकार कायम हुन नहुने भन्दै स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको उनको धारणा छ। प्रतिस्पर्धा भए मात्रै बजारले गति लिने र लगानीकर्ताको लागत घट्ने उनले सुनाए। 

अध्यक्ष हमालले पुँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताए। ‘बजारमा मोनोपोली हुनुहुँदैन, प्रतिस्पर्धा हुनुपर्छ। हामीले सी–आस्बा शुल्क घटाएका छौं,’ उनले भने, ‘नेप्से र सेबोनले लिने शुल्क पनि घटाउन अध्ययन गरिरहेका छौं।’

उनले ब्रोकरको शाखा खोल्न बोर्डले अनुमति दिनुपर्ने भन्दा पनि योग्य ब्रोकर छन् भने तिनले आफ्नो क्षमताअनुसारको शाखा खोल्न पाउनुपर्ने बताए। हमालले भेन्चर क्यापिटलका लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको र यो साताभित्र थप ७ कम्पनीलाई पनि अनुमति दिने जानकारी गराए। 

सोमबार राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पुँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष हमालले सो कुरा बताएका हुन्।

प्रकाशित: Aug 30, 2022| 13:39 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्