बुधबार, जेठ २७, २०८३

पोखराको कोसेली टुसा

कास्कीका उच्च पहाडि भू-भागमा पाइने टुसा विशेषत: असार, साउन र भदौमा पलाउने भएपनि बजारमा साउनको समयमा यसको उल्लेख्यरुपमा व्यापार हुने गरेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

कास्की- पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोशेलीका रुपमा टुसा लैजान थालेका छन्। कास्कीका उच्च पहाडि भू-भागमा पाइने टुसा विशेषत: असार, साउन र भदौमा पलाउने भएपनि बजारमा साउनको समयमा यसको उल्लेख्यरुपमा व्यापार हुने गरेको छ।

National life

विभिन्न औषधीय गुणसमेत पाइने टुसाको तरकारी विशेष रोजाइमा पर्ने गर्दछ। अन्नपूर्ण आधार शिविर र मर्दि आदि क्षेत्रको पदयात्रामा जानेलाई त्यहाँका स्थानीयले टुसाको तरकारी खुवाउने गर्दछन्। जिल्लाका अधिकांश टुसा पाइने स्थानहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत पर्दछन्। एक्यापले टुसा पाइने क्षेत्रको संरक्षणसँगै प्रत्येक याममा सर्वसाधारणलाई टुसा काट्नका साउन महिनाभर खुल्ला गर्ने गर्दछ। असार, साउन र भदौ टुसा पलाउने मुख्य याम भए पनि असार र भदौ नै टुसालाई बढ्न दिने प्रचलन छ।   

प्रत्येक वर्ष साउन महिनाभर टुसा काट्न खुलाउने र भदौ १ गतेबाट रोक्ने गरिएकोमा यस वर्ष पनि एक्यापले टुसा काट्न रोक लगाएको छ। जिल्लाको विभिन्न क्षेत्रबाट निर्यात हुने टुसा भदौ लागेसँगै रोक लगाइएको एक्याप,ल्वाङका पर्यटन सहायक शिव देवकोटाले जानकारी दिए। एक्यापले साउन १ गतेदेखि टुसा काट्नका लागि अनुमति दिएको थियो। टुसाका लागि प्रख्यात जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १, २, ८ र ९ बाट दुई/दुई लाखको दरले छ लाख टुसा बिक्री गर्न अनुमति दिएको उनले जानकारी दिए। योसँगै बजारमा टुसाको व्यापारमा कमी आउने उनको भनाइ थियो। 

साउनको अन्त्यसँगै टुसा काट्न बन्द गरिएको स्थानीय टुसा व्यावसायी राजकुमार गुरुङले जानकारी दिए। बजारमा माग बढेपनि एक्यापको नियममा रहेर बन्द गरेको उनको भनाइ थियो। यस वर्ष टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा टेवा पुगेको उनले सुनाउनुभयो । टुसा काट्ने र बोक्नेलगायत कार्यमा स्थानीयले नै रोजगारी पाएका छन्। 

यस वर्षपनि आफूहरुले टुसा सङ्कलनका लागि अनुमति पाएपछि स्थानीय धेरैले रोजगारी पाएको व्यावसायी गुरुङले जानकारी दिए। यसरी सङ्कलन गरिएको टुसा बजारसम्म आउँदा ६० देखि ८० सम्म पर्ने गरेको छ। 'कृषकहरुले सङ्कलन गरेको टुसा हामीले बजारमा ३५ देखि ५० प्रति मूठा दिन्छौं', उनले भने, 'बजारमा पुग्दा ८० सम्ममा बेचेको थाहा पाएको छु, जे भएपनि यसले राम्रै बजार पाएको छ।'

Shivam cement

आफूहरूले तोकेको समय सीमाभन्दा अघि/पछि वा अन्य ठाउँबाट टुसा कसैले बिक्री वितरण गरे कारबाही हुने पर्यटन सहायक देवकोटाले जनकारी दिए। साउनको महिनामा माछा मासु कम खाने प्रचलन रहेको र टुसाको उत्पादन पनि बढी हुने भएकाले यस समयमा आफूहरूले टुसा बिक्रीका लागि समय खुला गरेको उनको भनाइ छ। 'टुसा उम्रने उपयुक्त समय असार, साउन र भदौलाई मानिन्छ', उनले भने, 'असार र भदौको टुसालाई हुर्कन दिएर साउनमा उम्रने टुसालाई हामीले तरकारीका रुपमा प्रयोग गर्न बाटो खोल्ने गरेका छौँ।' 

एक्यापले अनुमति नदिएको समयमा टुसाको चोरी निकासी गर्नेलाई कारबाही गरिने उनले बताए। टुसाको व्यापार व्यावसाय नगर्न सूचना जारी गरिसकेपछि यो समयमा कसैले अवैध बाटोबाट टुसाको व्यापार गरेको थाहा पाएमा नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा कारबाहीका लागि पठाइने छ। 

पर्यावरण जोगाउन पनि निगालोको संरक्षण गर्नु आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङका अध्यक्ष ओमप्रसाद गुरुङले जानकारी दिए। कलिलो टुसा जङ्गली जनावर भालुको खाना भएकाले पनि अझै महत्व रहेको छ।  यसैगरी निगालोको चोयाँबाट बन्ने डोको, भकारी, डालोलगायत सामाग्री स्थानीयको आयस्रोतको बाटो भएकाले पनि संरक्षणमा टुसा संरक्षणमा जोड दिइएको गुरुङले जानकारी दिए। 

पछिल्लो समयमा कलिलो टुसा तरकारीका रुपमा परिचित भएकाले चोरी निकासी बढ्न थालेसँगै यसको व्यवस्थापनका लागि एक्यापले वैधरुपमै रकम बोलकबोलका आधारमा टुसाको व्यापार गर्न दिने गर्छ। हरेक वर्ष कास्कीको माछापुच्छ्रे क्षेत्रमा छ लाख टुसा बिक्री हुने गुरुङले जानकारी दिए। 'हामीले वर्षमा एउटा महिना टुसा काट्न स्थानीयका लागि बैधानिकता दिंदै आएका छौं', उनले भने, 'साढे एक लाखदेखि साढे दुई लाखसम्म बोलकबोल राख्छौं, त्यसमा जसले सबैभन्दा बढि रकम तिर्छ उसैले एक महिनासम्म टुसा काट्न पाउँछ।' 

अनुमति पाएको व्याक्तिले स्थानीय सरकारलाई कर तिरेपछि टुसा सङ्कलनका लागि एक्यापले अनुमति दिन्छ। बोलकबोलबाट आएको रकम २० प्रतिशत वडा कार्यालयलाई दिने गर्छ। ७५ प्रतिशत रकम वडा अन्तर्गतनै बाटो, खानेपानीलगायत विकास निर्माणमा खर्च गर्दै आएको छ। भने बाँकी ५ प्रतिशत रकम संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ । त्यो रकम एक्याप क्षेत्र भित्र जनावरका अन्य कारण हुने घटना दुर्घटनामा राहत दिने गुरुङले जानकारी दिए।  

कास्कीको ल्वाङ, घलेल, भुर्जुङखोला, सिक्लेस, ताङतिङ, याङजाकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्लेलगायत क्षेत्रबाट टुसा निकासी हुन्छ। देशका विभिन्न स्थानबाट पोखरा आउने जो कोहीले यहाँको कोशेलीका रुपमा टुसा किनेर जान थालेसँगै यसको माग वर्षेनी बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।  -रासस

प्रकाशित: Aug 30, 2022| 13:04 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्