काठमाडौं- नेपाल र भारतबीच रक्सौल-काठमाडौं रेलमार्गबारे सम्झौता हुने भएको छ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको सहकार्य (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान साढे आठ बजे काठमाडौं आउँदै छन्। प्रधानमन्त्री केपी ओलीसँग भारतीय समकक्षी मोदीको शुक्रबार भेटवार्ता हुँदैछ।
स्रोतका अनुसार सोही भेटवार्ताका क्रममा दुई देशबीच रेल सम्झौतामा हस्ताक्षर हुन लागेको हो। दुई प्रधानमन्त्रीबीच शुक्रबारका लागि भेटवार्ता तय गरिएको हो।
नेपाल र भारतबीच भारतीय रेललाई रक्सौलबाट काठमाडौं जोड्नेबारे सहमति भइसकेको छ। जसअनुसार पूर्व सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारत सरकारले सहयोग गर्ने सहमति छ। वर्षदिनभित्र दुवै अध्ययन सकिने बताइएको छ।
यस्तै, दुवै पक्षबीच द्विपक्षीय पारवहनका लागि थप विन्दुको प्रयोग र पारवहन प्रक्रिया सहजीकरण गर्नेसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ।
दुवै प्रधानमन्त्रीका यसअघिका भ्रमणका क्रममा भएका सहमति, समझदारी र प्रतिबद्धताबारे समीक्षा हुने प्रधानमन्त्री ओलीनिकटस्थ स्रोतले जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हो। सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै द्विपक्षीय भ्रमण आएका मोदी त्यसपछि सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए। गत वैशाख अन्तिम साता उनले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शनका लागि ‘धार्मिक भ्रमण’मा आएका थिए।
नयाँ संविधानअनुसार भएका तीन तहका निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्री ओलीको भारत भ्रमण गरेपछि उनकै निमन्त्रणमा गत वैशाखमा मोदी नेपाल आएका थिए।
नेपालले जारी गरेको संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले नाकाबन्दी लगाएका कारण द्विपक्षीय सम्बन्ध बिग्रेको थियो। यसबीचमा भएका भ्रमण आदानप्रदानका कारण अहिले सम्बन्ध सामान्य अवस्थामा फर्केको छ। प्रधानमन्त्री मोदीले विगतको तिक्ततापूर्ण सम्बन्धलाई बिर्सेर अगाडि बढ्न भारत तयार रहेको बताउँदै आएका छन्।
स्रोतका अनुसार द्विपक्षीय बैठकमा नेपाल र भारतबीच सन् १९५० को सन्धिलगायत समग्र द्विपक्षीय सम्बन्ध पुनरावलोकन गर्न बनेको ईपीजीको कार्यकाल सकिएको छ। र, त्यसले तयार पारेको साझा प्रतिवेदनबारे दुई प्रधानमन्त्रीबीच छलफल हुने स्रोतले जनाएको छ। ईपीजीको कार्यकाल जुलाई पहिलो साता नै सकिएको छ। दुवै प्रधानमन्त्रीलाई टोलीले प्रतिवेदन बुझाउने अवसर पाएको छैन। ईपीजीले प्रतिवेदन बुझाएपछि बल्ल त्यसबारे दुवै सरकारले निर्णय लिनेछन्।
प्रधानमन्त्री ओलीले सार्कको शिखर सम्मेलन आयोजना गर्नेबारेमा समेत भारतीय समकक्षीसँग वार्ता गर्ने सम्भावना छ।
तस्बिर स्रोत: प्रधानमन्त्री केपी शर्मा ओलीको निजि सचिवालय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४