काठमाडौं- विषादी अवशेष द्रुत प्रयोगशालामा प्रयोग गरिएका नमूनामध्ये १४ नमूनामा बढी मात्रामा विषादी प्रयोग भएको पाइएको छ। कृषि ज्ञान केन्द्र चितवन, भरतपुर महानगरपालिका र कृषि प्रवर्द्धन बजार विकास प्रालि क्षेत्रपुरले सञ्चालनमा ल्याएको प्रयोगशालामा गत आर्थिक वर्ष २०७८/८९ मा सात सय ४४ नमूना परीक्षण गरिएकोमा सो सङ्ख्यामा बढी मात्रामा विषादी प्रयोग गरेको पाइएको हो।
कृषि ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार आठ नमूना क्वारेन्टिनमा राखेपछि बिक्रीका लागि पठाइएको छ। सात सय २२ नमूना खानयोग्य रहेको उहाँले जानकारी दिनुभयो। कार्यालयका अनुसार बढी मात्रामा विषादी प्रयोग हुनेमा केरा रहेको छ। परीक्षणका क्रममा चार ठाउँबाट ल्याइएको केरा, तीन ठाउँबाट ल्याईएको हिउँदे सिमी र दुई ठाउँको काँक्रो नष्ट गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार करेला, भेन्टा, बन्दा र भेडे खुर्सानी एक/एक ठाउँबाट ल्याइएकोलाई नष्ट गरिएको हो।
विषादीको अधिकतम प्रयोग र यसबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न, तरकारी, फलफूललगायत तत्काल उपभोग गरिने कृषि उपजमा रहने विषादीको अवशेष विश्लेषण गरी प्रचलित कानुन बमोजिम नियमन गर्न यो प्रयोगशाला निर्माण गरीएको हो। विसं २०७६ असोज ७ गतेदेखि सञ्चालनमा आएको यस प्रयोगशालाले बिहान ३ बजेदेखि बिहान कै ६ बजेसम्म कृषि प्रवद्र्धन बजार विकास प्रालि क्षेत्रपुरमा सेवा दिँदै आएको छ।