काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपति सिरिसेना पनि काठमाडौं आइपुगेका छन्।
यसअघि बुधबार बिहानै भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ वाङचुक काठमाडौं आइपुगेका थिए भने म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार साँझ काठमाडौं आइपुगेका थिए।
उनीहरु सबैलार्इ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। विशिष्ट पाहुना सिरसेना, वाङचुक र मिन्टलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो।
नेपाल भित्रिने पहिलो पाहुनाका म्यानमारका राष्ट्रपति मिन्ट मंगलबार नै काठमाडौं पुगेर आज (बुधबार) गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणसमेत गरेका छन्।
त्यसैगरि बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार ८:३० बजे, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद ९:१५ बजे काठमाडौं आउने भएकी छन्। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा बिहीबार बिहान १०:१५ मा त्रिभुवन विमानस्थलमा ओर्लने कार्यक्रम छ।
नेपाल सरकारले सम्मेलनमा सहभागी राष्ट्रका राष्ट्रप्रमुखलाई अति विशिष्ट भीभीआईपी सुरक्षा प्रदान गर्नेछ। उनीहरूको सुरक्षा र सम्मानार्थ उनीहरूले प्रयोग गर्ने सडक रुटमा एक घण्टा सवारी साधन रोकिने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४