बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणले तीन महिनामै भारतलाई बेच्यो ६ अर्बको बिजुली

प्राधिकरणले तीन महिनामै भारतलाई बेच्यो ६ अर्बको बिजुली

चालू आवमा मात्रै १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्राधिकरणको प्रक्षेपण।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– ठूलो व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद संकेत देखा परेका छन्। कुनै बेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रूपमा परिणत भएको छ। विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झन्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। यसले खडेरीमा वर्षात् भएजस्तै राहतको महसुस भएको छ। 

National life

हाल दैनिक रूपमै कुल ३६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ। माथिल्लो तामाकोसीको ४५६ मेगावाट र अन्य आयोजनाको ११० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ।

भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राधिकरणले चालू आवमा मात्रै १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ। थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ।

आगामी दुई वर्षपछि मुलुक पूर्ण रूपमा बिजुली निर्यात गर्ने देशका रूपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको दाबी छ। ‘आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुन सक्छ तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ। आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछौं’, कार्यकारी निर्देशक घिसिङले भने।

गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो। गत ५ जेठदेखि पुनः बिजुली निर्यात सुरु भएको र २७ जेठदेखि भारतको ऊर्जा एक्सचेन्ज मार्केटमा समेत निर्यात सुरु भएको छ। चालू आवको साउनमा मात्रै झन्डै २ अर्ब बराबरको बिजुली निर्यात भएको छ।

Shivam cement

वर्षातको मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुली माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उनको भनाइ छ। प्राधिकरणले बढी माग हुने समय प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ। यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो। आन्तरिक रूपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ।

गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप ७४१ मेगावाट बिजुली थप भएको छ। चालू आवमा झन्डै एक हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत् विकास विभागका महानिर्देशक सञ्जीव देवले बताए। मुलुकको कुल जडित क्षमता २,२६९ मेगावाट बराबर पुगेको छ ।

निर्यात खुरुखुरु 

मुलुकभित्र बिजुली उत्पादन बढ्दै जाँदा थप निर्यातका लागि प्रसारण लाइन नभएको आशंका व्यक्त भइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने त्यसलाई नकार्छन्। उनले हाल भारतका विभिन्न राज्यमा विभिन्न स्थानबाट प्रसारण प्रणाली जोडिएको जानकारी दिए। विगतमा बिजुली आयात गर्ने मात्रै विषयले प्राथमिकता पाउने गरेकामा पछिल्ला दिनमा निर्यातको विषयले प्राथमिकता पाएको उल्लेख गर्दै उनले आठ स्थानबाट दुई देश जोडिएको बताए।

भारतीय कम्पनी सतलजले ढल्केबर हुँदै सीतामढी जोड्न निर्माण गरिरहेको चार सय केभी क्षमताको प्रसारण लाइनबाटै पनि बिजुली भारत पठाउन सकिने उण्नको भनाइ छ। सो प्रसारण लाइनले २००० मेगावाट बिजुली बोक्न सक्छ। यस्तै, ४०० केभी क्षमताको ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा चलाउँदा १,२०० सय मेगावाट बराबर बिजुली पठाउन सकिन्छ।

न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बोलपत्र भइसकेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सो लाइनसमेत निर्माण भइसक्ने उल्लेख गरे। सो प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड इन्डियाले जिम्मा लिएको छ। त्यसमा प्राधिकरण र भारतीय पक्षको समान लगानी रहनेछ। कुल १४० किलोमिटर हुने भनिएको सो लाइनको लम्बाइसमेत घटेको छ। त्यस आधारमा लगानी पनि १ अर्ब कम लाग्ने देखिएको छ।

नेपालतर्फको अमेरिकी सहयोग परियोजनाले निर्माण गर्ने भनिएको स्थानमा समेत १८ किलोमिटर प्रसारण लाइन प्राधिकरण आफैंले निर्माण गर्ने भएको छ। भारततर्फको कुल १२० किलोमिटरमध्ये ९६ किलोमिटर मात्रै निर्माण हुने भएको छ। यस्तै, लम्की–बरेली र इनरूवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि प्रक्रिया सुरु गरिने भएको छ। ती दुवै प्रसारण लाइन ४०० केभी क्षमताका छन्। आन्तरिक रूपमा आयोजना निर्माण सम्पन्न हुँदै जाँदा प्रसारण लाइन तयार भइसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ।

प्राधिकरणले सतलजले निर्माण गरिरहेको प्रसारण लाइनमा समेत प्रयोग गर्न पाउने भएको छ । त्यस आधारमा पनि कुनै समस्या नहुने जनाएको छ। आन्तरिक रूपमा निर्माणमा रहेको हेटौंडा– इनरूवा प्रसारण लाइनको अवरोधसमेत खुलेका अवस्थामा सो लाइनमार्फत थप बिजुली प्रवाहका लागि मार्ग प्रशस्त हुने जनाएको छ।

हाल देशभर ९५ प्रतिशत घरधुरीमा केन्द्रीय प्रणालीको बिजुली पुगेको उनले जानकारी दिए। सरकारको निरन्तरको प्रयास, प्राधिकरणको सकारात्मक योजना र पहलका कारण चार वर्षअघि ६२ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको भए पनि हाल त्यो बढेर ९५ प्रतिशत पुग्नु आफैंमा महत्त्वपूर्ण उपलब्धि भएको उनको तर्क छ।

प्राधिकरणले बिजुली नपुगेका दुर्गम स्थानका लागि बोलपत्रसमेत गरिसकेकाले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुग्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० हजार घरधुरीमा उज्यालो पुर्‍याउनेछ। आन्तरिक रूपमा पनि बिजुली खपतको मात्रामा २५ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ। हरेक वर्ष बिजुलीको खपतमा वृद्धि भएको र त्यो निरन्तर अगाडि बढ्ने क्रममै रहेको कार्यकारी निर्देशक घिसिङले बताए।

देशभित्रै बिजुली खपतका लागि विद्युतीय चुल्होको प्रवद्र्धन तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माणलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइएको उनको भनाइ छ। प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर चार्जिङ स्टेसन र विद्युतीय चुल्हो प्रयोगको अभियान नै सञ्चालन गर्ने भएको छ।–रासस

प्रकाशित: Aug 29, 2022| 16:38 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्