शुक्रबार, असोज ९, २०८३

नेपाललाई विश्व बैंकको १३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग

ऋण सहयोगले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नुका साथै सामुदायिक वन, कृषि र फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा रोजगारी सिर्जना गर्न सघाउने विश्व बैंकको विश्वास।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– नेपाललाई विश्व बैंकले १३ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ। बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड), नयाँ विकास नीति ऋण (डीपीसी) परियोजनका लागि १० करोड अमेरिकी डलर (करिब १३ अर्ब) सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। 

सोमबार नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले ऋण सम्झौतामा हस्ताक्षर गरे ।

नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । ग्रीडअन्तर्गत तीन सहुलियतपूर्ण ऋण डीपीसीको शृंखलामध्येको पहिलो रहेको बैंकले बताएको छ । 

‘कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा नेपाल सरकार, विश्व बैंक र  विकास साझेदारले महत्त्वपूर्ण काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेका छौं,’ बैंकका प्रबन्धक लाडा स्ट्रेलकोभाले भने। 

परियोजनामार्फत जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी फोहोर र प्रदूषणलगायत क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यलाई सहयोग गर्ने उनको भनाइ छ। कार्यक्रमले ग्रीडअन्तर्गतका रणनीतिक परिवर्तनका लागि नेपालले अवलम्बन गरेका नीतिगत कार्यमा समर्थन गरी सबैका लागि समृद्धि निर्माण गर्न सहयोगले सघाउने विश्वास बैंकको छ ।

कार्यक्रमले नेपालको अर्थतन्त्रलाई हरितकरण गर्नुका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा, र ठोस फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा रोजगारी सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको अपेक्षा छ।

प्रकाशित: Aug 29, 2022| 14:37 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्