बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चाडपर्व नजिकिएसँगै सुनचाँदी खरिद गर्ने दोब्बर बढे, एक वर्षमा भित्रियो साढे ३५ अर्बको सुन

चाडपर्व नजिकिएसँगै सुनचाँदी खरिद गर्ने दोब्बर बढे, एक वर्षमा भित्रियो साढे ३५ अर्बको सुन

उपत्यकाका सुनचाँदी पसलमा तीज पर्व लागेसँगै गहन खरिद गर्ने ग्राहक बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– चाडपर्व नजिकिएसँगै सुनचाँदी बजारमा गहना खरिद गर्ने ग्राहकको बाक्लो भीड लाग्न थालेको छ। उपत्यकाका सुनचाँदी पसलमा तीज पर्व लागेसँगै गहन खरिद गर्ने ग्राहक बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

National life

महिलाको पर्व तीजको चहलपहल बढेको, दसैं, तिहार, छठजस्ता ठूला चाडपर्व नजिकिएकाले सुनका गहनाको कारोबारमा उल्लेख्य वृद्धि भएको व्यवसायी बताउँछन्।

गत जेठ, असार र साउनमा सुन बिक्री न्यून रहेकामा भदौदेखि कारोबार दोब्बरले बढेको महासंघले बताएको छ। 

महासंघ अध्यक्ष माणिकरत्न शाक्यले भदौ लागेसँगै चाडपर्व सुरु भएकाले सुनचाँदीको कारोबार दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए।

यसअघि दैनिक १० किलोग्रामको हाराहारी सुन बिक्री भइरहेकामा अहिले दैनिक २५ किलोग्रामसम्म बिक्री भइरहेको तथ्यांक उनले प्रस्तुत गरे। शाक्यले भने, ‘भदौ लागेसँगै चाडवाड पनि नजिकिन थालेकाले बजारमा सुनको माग बढ्न थालेको छ।’ 

Shivam cement

बिहे र चाडपर्वको समय सुनको कारोबार बढी हुने गर्छ। तीजलगत्तै दसैं, तिहार आउने हुँदा सुनको कारोबार बढ्ने गर्छ।

बजारमा दसैं घटस्थापना र तिहारको धनतेरसको दिन सबैभन्दा धेरै सुन कारोबार हुने गरेको शाक्यले सुनाए। यसपछि मंसिर, पुस, माघ, फागुनमा विवाहका लगन धेरै पर्ने भएकाले सुनको कारोबार उल्लेख्य हुने गर्छ।

सरकारले विदेशी विनिमय सञ्चिति जोगाउन दैनिक १० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था गरेको छ। यसअघि दैनिक २० किलोग्राम सुन ल्याउन पाइने व्यवस्था हटाएर दैनिक कोटा १० किलोग्राममा झारेको छ।

बजारमा सुनको माग बढेकाले आवश्यकताभन्दा कम सुन आपूर्ति भइरहेको शाक्य बताउँछन्।

गत वैशाखदेखि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरी दैनिक १० किलोग्राममा झारेको थियो। 

सरकारले दैनिक १० किलोग्रामसम्म मात्र सुन ल्याउन दिएको र बजारको माग २५ किलोसम्म भएकाले आपूर्तिमा कमी भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए। 

एक वर्षमा भित्रियो साढे ३५ अर्बको सुन

नेपालमा गत आर्थिक वर्ष ३५ अर्ब रुपैयाँको पहेंलो धातु सुन आयात भएको भन्सार विभागको तथ्यांक छ। विभागको तथ्यांकअनुसार आव २०७८/७९ मा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार बराबरको ५,०५३ किलो सुन आयात भएको हो। 

आव २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३,९२४.५ केजी सुन भित्रिएको थियो।

प्रकाशित: Aug 29, 2022| 12:05 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्