नागरिकले राजनीतिक सहभागितामा विवेक प्रयोग गरे त्यसले सकारात्मक परिणाम दिन्छ। यसको एक नमुना हो बालेन्द्र शाह (बालेन) को गतिविधि। कुनै राजनीतिक दलको प्रतिनिधि भएर काठमाडांै महानगरपालिकाको मेयर चुनिने कसैले पनि बालेनले जति साहस देखाउने सम्भावना थिएन। दलको प्रतिनिधि उही दलको स्वार्थमा बाँधिएको हुन्छ। तेश्रो विश्वको राजनीतिक दल व्यापारी र धनाढ्यको चंगुलमा परेको घटना अब नौला रहेनन्।
बालेन्द्र शाहले बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अगाडि बनाएको अनधिकृत संरचनामा डोजर चलाएका छन्। डोजर चलाउनुअघि अनधिकृत संरचनाको कुरा गर्दा घरवाला र मेयरबीच नक्साको कुरा देखिन्छ। आफूसँग हुनुपर्ने नक्सा घरवालाले मेयरसँग मागेपछि मेयरले आक्रोश पोखे। आक्रोश कम्प्लेक्सका मालिकले पनि पोखेका छन्।
दुवैको आक्रोश पोखिए पनि नागरिकको सहानुभूति मेयरतिर देखिन्छ। पछि मेयरले नक्सामात्र देखाएका छैनन्। नक्सा अनुरुप नभएको संरचनामा डोजर पनि चलाएका छन्। यो साहस बालेन्द्रले आफू स्वतन्त्र भएबापत प्राप्त गरेका हुन्। हाम्रा राजनीतिज्ञहरु शक्तिशाली देखिन्छन्। पदमा पुगेकालाई ऐनकानुनले नै अधिकार प्रदान गरेको हुन्छ। तर राजनीतिज्ञ आफैंले बसाएको बेथितिमा यी अधिकार ओझेल पर्छन्। मन्त्री तथा पदमा आसिन कुनै पनि नेता पराधिन र निरीह देखिन पुग्छन्।
पूर्वमन्त्री तथा एमालेका नेता महेश बस्नेतको उच्छवास प्रकट भइसकेको छ। बस्नेतकै पीडामा लय मिलाउँदै आइपुगेका छन् कांग्रेस नेता मीन विश्वकर्मा। उनीहरुको उच्छवासले बालेनप्रति खबरदारी र कम्प्लेक्सका मालिकप्रति सहानुभूति प्रकट गरेको देखिन्छ। बस्नेतको अभिव्यक्ति र विश्वकर्माको खबरदारी कुनै पनि हिसाबले उचित देखिँदैन। नागरिकको नजरमा सही नदेखिनु एउटा कुरा हो। तर यस्तो अभिव्यक्ति दिन हाम्रा नेताहरु बाध्य छन्। अहिले भएका दलहरुले नै राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याएका हुन्। उनीहरुको यो कमजोरीमा धनाढ्य वर्ग तथा व्यापारीले खेल्ने मैदान तयार पारिसकेका छन्।
नागरिकको सहानुभूति मेयरतिर देखिन्छ। पछि मेयरले नक्सामात्र देखाएका छैनन्। नक्सा अनुरुप नभएको संरचनामा डोजर पनि चलाएका छन्। यो साहस बालेन्द्रले आफू स्वतन्त्र भएबापत प्राप्त गरेका हुन्।
उनीहरु यो चंगुलबाट बाहिर आउनै सक्दैनन् भन्नु घोर निराशावादी सोच होला। चंगुलबाट बाहिर निस्कनु असम्भव भन्ने हैन तर उति सहज पनि देखिँदैन। यो अर्थमा महेश बस्नेतको अभिव्यक्ति समग्र राजनीतिक दलमा आवद्ध नेताको प्रतिनिधि आवाजमात्र हो। सारमा, सबैलाई बालेनको कदमले पोलेको छ। बालेनको कदमले थिति बसाउन जोड गरिरहेको छ। थिति बस्दै गर्दा नागरिकले सुख पाउला तर राजनीति गर्नको लागि आवश्यक अर्थको जोहो गर्ने बाटोहरु बन्द हुँदै जान्छन्। तसर्थ अहिलेको नेताहरु लोकतान्त्रिक व्यवस्थाभित्र पनि स्वतन्त्र छैनन्। स्वतन्त्र ढंगले आफ्नो विवेक प्रयोग गर्ने हैसियत गुमाइसकेका छन्।
राजनीतिज्ञले जनताको हितमा सोच्नुपर्ने हो। अनधिकृत रुपमा भइरेहका काम तथा निर्मित संरचनाले सहरको सुन्दरतामात्र बिगारेको छैन। नागरिकले पाउनुपर्ने सुविधा वा सहजताको उपभोग पनि गर्न पाएका छैनन्। यस्तो बेला जनप्रतिनिधिले नागरिकको हितमा बोल्नुपर्ने हो। तर वर्षौंदेखि नियम मिचेर व्यक्तिगत फाइदा लिइरहेका धनाढ्यप्रति नै सहानुभूति पोखेका छन्। यो कुरा असह्य हो। तर धमिलिएको राजनीतिमा नेताको यो अभिव्यक्ति अस्वाभाविक भने हैन। आफ्नो राजनीतिको नैया पार गराउन सहयोग गर्ने दाताको हितमा बोल्न बाध्य छन् नेताहरु।