शुक्रबार, असोज ९, २०८३

आलुको बजार व्यवस्थापन नहुँदा किसान समस्यामा

अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँका आलु बिक्री नहुँदा किसान मारमा परेका हुन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

रुकुमपूर्व- रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन्। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ। बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ। तर,  अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन्।

अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँका आलु बिक्री नहुँदा किसान मारमा परेका हुन्। यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको वडा–१० निवासी  चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताइन्। 

त्यहाँ चक्लाबन्दी कार्यक्रममार्फत समूहले धेरै आलु उत्पादन गरेपछि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको उनले गुनासो गरिन्। अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको सदस्य बुढाको भनाइ थियो।

बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उनले बताइन्। उत्तरगंगा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगंगा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ। 

एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताए। किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसकेको उनको भनाइ थियो। रासस


प्रकाशित: Aug 28, 2022| 05:00 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्