काठमाडौं– कोभिड महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र चलायमान बनाउने उद्देश्यले राजधानीमा सात वटै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलन सुरु भएको छ। सम्मेलनको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले शनिबार उद्घाटन गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौं बोलाएर एक दिने सम्मेलन गरेको हो।
सम्मेलनमा होटल, र्याफ्टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइडलगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जारी भएका कानुन तथा मापदण्डबारे छलफल हुने मन्त्रालयले जनाएको छ।
सम्मेलनमा संविधानमा राखिएका पर्यटन क्षेत्र सम्बन्धित अधिकार, संघीय संरचना र अन्तर्सम्बन्ध, संघ, प्रदेश र स्थानीय तहका जिम्मेवारी, चालू आर्थिक वर्षको बजेटले घोषणा गरेका नीति तथा कार्यक्रम, पुनरुत्थान कार्ययोजना, स्थानीय तहमा सञ्चालित पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमलगायत विषयमा छलफल हुनेछ।