काभ्रे– पनौती नगरपालिका–१२ का यज्ञ खत्रीकोे गोठमा यतिबेला सात वटा भैंसी छन्। केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैंसीपालन छाडेका खत्रीलाई नगरको ‘भैंसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो।
‘विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैं घाटामा भैंसी पाल्न नसकिएपछि चार भैंसी मासुको मूल्यमा बेचेर छाडेको थिएँ। अहिले पुनः भैंसी पाल्न जाँगर चलाएको छु। हाल मेरो गोठमा सात भैंसी छन्’, उनी भन्छन्।
खत्रीलाई नगरले भैंसीपालनमा ल्याएको अनुदान, बिमा र सुत्केरी प्रोत्साहन भत्ताले पुनः व्यावसायिक भैंसीपालनमा लगायो। वर्षौंदेखि गाई पाल्दै आएकी पनौती–३ की विमला सापकोटाले तीन–चार वटा भएको गोठमा एउटा भैंसी थपिन्। नगरले ल्याएको अनुदानपछि भैंसी थपेकी उनले दूध बिक्रीमार्फत घरखर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएकी छन्।
उनी भन्छिन्, ‘गाईभैंसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु। यसका लागि नगरको अनुदान बीमा र भैंसी सुत्केरी प्रोत्साहन भत्ताले अहिले अर्को भैंसी थप्ने सोचाइमा छु।’
पनौती–१२ कै भावना थापा पाल्न धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुने गरेपछि गोठमा भैंसी घटाउँदै जाने कृषक नगरको कार्यक्रमले आत्मबल बढाउँदै भैंसी थप्नतर्फ लागेको बताउँछिन्। ‘अब त्यो समस्या हटेको छ। भैंसीको बिमा पनि हुने, अनुदान रकम पनि पाइने। हामी किसानलाई ठूलो राहत मिलेको छ’, उनी भन्छिन्। उनले पनि हालै दुई भैंसी थपेर पाडापाडी हुर्काउन थालेकी छन्।
उनी भन्छिन्, ‘सुरुमा भैंसीलाई सुत्केरी भत्ता सुन्दै छक्क परियो। अहिले उक्त कार्यक्रम भैंसीपालक कृषकलाई वरदानै सावित भएको छ।’ पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले नगरको सुत्केरी भत्ता कार्यक्रम सुरु भएपछि फार्म नै स्थापना गरी १७ भैंसी पालेका छन्। उनी भन्छन्, ‘नगरले भत्तासँगै भ्याक्सिन र औषधी निःशुल्क गर्दा यसप्रति आकर्षण थपियो।’
भैंसीपालक कृषक नगरले पाँच वर्षअघि सुरु गरेको कार्यक्रम अभियानबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको बताउँछन्। पनौती नगरले आव २०७४/७५ बाट ‘भैंसी संरक्षण–संवद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैंसी भत्ता कार्यक्रम सुरु गरेको थियो। जननिर्वाचित जनप्रतिनिधिले नगरको कार्यसम्पादन कार्यभार सम्हालेपछि सुरु भएको सुत्केरी भैंसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषय बन्न पुगेको थियो।
अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्यांकले देखाएको छ। त्यस आवको तथ्यांकअनुसार नगरको कृषकका घरगोठमा ४,७४७ भैंसी थिए। त्यस समय वार्षिक ५०० भैंसी खरिद भएर अन्य स्थानबाट नगर भित्रन्थे। करिब ६ करोड भैंसी खरिदमा रकम बाहिरिएको थियो।
सञ्चालनका बेला पनौती नगरमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो। उत्पादितमध्ये १५ हजार लिटर काभ्रेमै खपत हुने गरेको र २५ हजार काठमाडौं उपत्यका लैजाने गरिन्थ्यो। नगरमा उक्त अभियान सुरु गरेदेखि हालसम्म भैंसीको संख्यासमेत झन्डै दोब्बर नजिक पुगेको छ भने दैनिक ७० हजार लिटर दूध उत्पादन हुने गरेको छ।
नगरले दूध उत्पादन र नगरमा भैंसीको अवस्थाबारे अध्ययन कार्यक्रम सुरु गरेको थियो। भैंसी संरक्षण अभियानअन्तर्गत प्रारम्भिक चरणमा भैंसी सुत्केरी भत्ता वितरण गरिएको तत्कालीन नगरप्रमुख भीम न्यौपानले बताए। उनका अनुसार पहिलो बेतको भैंसी सुत्केरी हुँदा ५ हजार र त्यसपछि २ हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको थियो। नगरको कृषि तथा पशुपक्षी शाखाले उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बिमा गर्नुपर्ने नियम बनाएको थियो।
शाखाले बिमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था मिलाउँदै खोप, घाँसका बिउ निःशुल्क उपलब्ध गराइँदै आएको छ। शाखा प्रमुख लीलाप्रसाद सापकोटा कार्यक्रम सुरुआतताका आव २०७५/७६ मा २१७ भैंसीलाई ५ लाख ७५ हजार भत्ता दिइएको जानकारी दिए। उनका अनुसार आव २०७६/७७ मा ४४४ भैंसीलाई १२ लाख, आव २०७७/७८ मा ६४१ भैंसीलाई १७ लाख ५० हजार र आव २०७८÷७९ मा १००० भैंसीलाई ३० लाख सुत्केरी भत्ता दिइएको छ।
हालको तथ्यांकअनुसार पनौतीमा ७,८५८ भैंसी छन्। भैंसीको संख्या वृद्धि भएको छ। खासगरी मुर्रा जातका भैंसी यहाँ पालिन्छ। हाल दैनिक उत्पादित करिब ७० हजार लिटरमध्ये ५० हजार लिटर काठमाडौं बिक्रीका लागि पठाइन्छ। अभियान सञ्चालन गरेपछि भैंसीको संख्यासँगै दूध उत्पादन दोब्बर भएको हो।
‘त्यतिबेला सुरु भएको अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तर उकासिएको छ’, पनौती–३ कुशादेवीका शिक्षासेवी रामप्रसाद अधिकारीले भने। उनका अनुसार नगरको अभियान निकै उदाहरणीय छ। सुरुआती आवमा ३०० पाडी वितरण गरिएकामा नगरले हालसम्म १००० संख्यामा वितरण गरिसकेको छ। नगरको चालू आवको बजेट, नीति तथा कार्यक्रममा नगरमा सञ्चालित भैंसी सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।–रासस