काठमाडौं- भीभीआईपीको सवारी दौडिने रुटमै सही, राजधानीका खाल्डाखुल्डी धमाधम पुरिएका छन् । यतिबेला । झरीको मौसमलाई पनि बेवास्ता गर्दै सरकारी संयन्त्रहरूलाई ती रुटमा कालोपत्रे भर्न भ्याइनभ्याइ छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनको आतिथ्य मुलुक बनेको छ, नेपाल । सदस्य बनेको १४ वर्ष अवधिमा बिमस्टेक सम्मेलन पहिलो पटक आयोजना गरेको हो, नेपालले ।
सडकका खाल्डाखुल्डी मात्र होइन, छेउछाउ पनि नेपालको मौलिक संस्कृति झल्किने गरी सजाइएको छ । विदेशी पाहुनालाई राजधानीका सडकका खाल्डाखुल्डीको झण्झटमा पर्न नदिने सरकारी प्रयास देखिन्छ ।
बिहीबार र शुक्रबार काठमाडौंमा सार्कका पाँच र दक्षिण–पूर्वी एसियाली दुई वटा मुलुकका राष्ट्र/सरकार प्रमुखहरू भेला हुँदैछन् । नयाँ सरकार बनेपछिको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएकाले आतिथ्यका लागि कुनै कसर नछाडिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन् ।
'यो सरकारको महत्वपूर्णमध्येको एक काम हो,' मन्त्री ज्ञवाली भन्छन् । उनको भनाइमा सम्मेलनका तीन वटा पक्ष छन् । पहिलो हो, सम्मेलनमा पारित हुने दस्तावेज, त्यसका निष्कर्ष र परिणाम । दोस्रो, प्राविधिक पक्षहरू, सम्मेलन स्थल, पाहुनाको स्वागत सत्कार । तेस्रो, सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुखहरूले गर्ने नेपालका समकक्षीहरूसँग गर्ने भेटवार्ता ।
नेपालले प्राप्त गरेका उपलब्धीहरू मित्रराष्ट्रहरूलाई सुनाउने अवसरका रूपमा पनि सरकारले यस सम्मेलनलाई लिएको छ ।
'नेपालले बिमस्टेकको नेतृत्व गरेको चार वर्ष भएको छ । यसबीचमा हामीले संविधान जारी गरेका छौं, संविधान कार्यान्वयनका क्रममा तीन वटै तहका निर्वाचन सम्पन्न भएका छन्,' मन्त्री ज्ञवाली भन्छन्, 'अब नेपालमा राजनीतिक अस्थिरता अन्त्य भयो, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्यो भन्ने सन्देश दिन यो सम्मेलन प्रभावकारी हुने आशा छ ।'
पूर्वराजदूत भेषबहादुर थापा भने बिमस्टेकको निरन्तरतामाथि प्रश्न उठाउँछन् । 'दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको मनमुटावका कारण सार्कले गति लिन नसकेका बेला बिमस्टेक त्यसको विकल्प हुनसक्छ । तर, यसलाई निरन्तरता दिन जरुरी छ,' थापा भन्छन्, 'सार्कलाई जस्तै लथालिंग नबनाई जोगाउन सक्यौं भनेचाहीं बिमस्टेक सदस्य राष्ट्रका लागि बहुउपयोगी हुनेछ ।'
जुनसुकै सम्मेलनमा काम गर्ने घोषणा गरिए पनि कार्यान्वयन पक्ष फितलो देखिने गरेको पूर्वअर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डे बताउँछन् । 'हामीले बिमस्टेकका विगतका गतिविधिलाई हेरेका छौं । धेरै निर्णय भएका छन् । तर, कार्यान्वयन पक्ष कमजोर छ,' पाण्डे भन्छन्, 'यो सम्मेलनमा निश्चित समय तोकेर नतिजामुखी काम गर्ने एजेन्डा पारित गर्न सक्यौं भने नेपाल र सदस्य सबै राष्ट्रको हीत हुन्छ ।'
सदस्य राष्ट्रबीचको सम्बन्ध अझ मजबुत बनाउँदै लगानी आदान–प्रदानको वातावरण तयार पार्नु महत्वपूर्ण विषय भएको पाण्डेको भनाइ छ । 'सम्पूर्ण आर्थिक मुद्दालाई राजनीतिक जगमा परिणत गरी आयआर्जनको बाटो खोज्न सकेका दिन बिमिस्टेकको महत्व अझ बढी झल्कने छ,' उनी भन्छन् ।
यो सम्मेलन नेपालका लागि अत्यन्तै हितकर हुने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गोविन्द नेपाल बताउँछन् । भूपरिवेष्ठित राष्ट्र नेपाललाई समुद्रसम्मको पहुँचमा पुर्याउन, गरिबी निवारणमा महत्वपूर्ण भूमिकाका लागि, जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधान गर्दै जल, जमिन र हवाई मार्गका माध्यमबाट सञ्जाल विस्तारमा सम्मेलन प्रभावकारी बन्न सक्ने उनको विश्लेषण छ ।
५८ वटा स्वागत गेट, तीनकुनेमा झाँकी
परराष्ट्र मन्त्रालयका अनुसार बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भीभीआईपी पाहुनाका लागि उपत्यकाभर ५८ वटा स्वागत द्वार बनाइएको छ । त्रिभुवन विमानस्थलबाट निस्कनेबित्तिकै दायाँ र बायाँ दुवैतर्फ मुख्यद्वार बनाइएको छ । यस्तै, महाराजगञ्जस्थित नारायणगोपाल चोक, राष्ट्रपति कार्यालयनजिक, कान्तिपथ, थापाथली, कालीमाटी, सोल्टिमोड, कलंकीलगायत पाहुना हिँड्ने रुटहरूमा गेट निर्माण गरिएको हो ।
गेटमा नेपालको कला, संस्कृतिको झल्को दिने प्रयास गरिएको छ । पहिलो गेटमा कलात्मक एवं पूरातात्विक महत्वका मन्दिरको तस्बिरसहितको कलात्मक र आकर्षक द्वार बनाइएको छ । त्यसमा बिमस्टेक राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरूको तस्बिर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तुपको कलात्मक गजुरसहित बिमस्टेक राष्ट्रका झण्डाले सजाइएको छ ।
ती गेटमा 'बुद्धको जन्मभूमि नेपालमा स्वागत छ अर्थात् 'वेलकम टु दी कन्ट्री अफ गौतमबुद्ध', 'सगरमाथाको भूमिमा स्वागत छ'लगायत लेखिएको छ । यस्तै, गेटहरूमा नेपाललाई चिनाउने सर्वोच्च शिखर सगरमाथा, डाँफे, मुनाल, आकर्षक हिमाली क्षेत्रका तस्बिर राखिएको छ ।
यस्तै, काठमाडौं महानगरपालिकाले उपत्यकाको परम्परागत नेवारी संस्कृति झल्कने झाँकी देखाउने भएको छ । तीनकुनेको खुला चौरलाई व्यवस्थित बनाएर नेवारी संस्कृतिसहित नेपालका विभिन्न जातजातिको पहिचान झल्कने झाँकी देखाउने तयारी गरिएको महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन् ।
२१ वर्षअघि सन् १९९७ मा स्थापना भएको बिमस्टेमा नेपाल सन् २००४ मा सदस्य बनेको हो । नेपालसहित भारत, भुटान, थाइल्यान्ड, म्यानमार, श्रीलंका र बंगलादेश यसका सदस्य राष्ट्र हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४