काठमाडौं– गत असारमा अनशन बसेका बेला नायिका करिश्मा मानन्धरले गरेको आर्थिक सहयोग र चस्मा निहारिका राजपुतले फिर्ता गरेकी छन्।
निहारिकाले अभिनेत्री करिश्माले दिएको २१ हजार र छोरालाई किनिदिएको चस्मा फिर्ता गरेकी हुन्। पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षे छोरा च्यापेरै पुगेकी थिइन् ।
गत साता निहारिकाका निजी तस्बिर सेयर गरेपछि करिश्मासँग उनको मनमुटाव भएको थियो। निजी तस्बिर सेयर गर्दै करिश्माले आफूले उनलाई गरेको सहयोगप्रति पश्चात्ताप गर्दै आफू मान्छे भएको तर एटिएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन्।
निहारिका पैसा फिर्ता गर्न गोदावरी पुग्ने समय करिश्मा सजिएर तीज कार्यक्रमका लागि पार्टी प्यालेसमा गएकी थिइन्। पार्टी प्यालेसमै पुगेर पैसा फिर्ता गर्ने क्रममा समेत भनाभन भएको थियो।
निहारिका आफूलाई बलात्कार गरी गर्भवती बनाउनेमाथि कारबाही हुनुपर्ने माग गर्दै आमरण अनशन बसेकी थिइन्।