काठमाडौं– काठमाडौं महागरपालिकाले आज शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको छ। विभागको बेसमेन्ट पार्किङ खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली त्यहाँ पुगेको हो।
हिजो बिहीबार महानगरले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाएको थियो। ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको हो। मेयर शाह आफैं फिल्डमा खटिएर अवैध संरचना भत्काउन निर्देशन दिइरहेका छन्।
राहदानी विभागमा रहेको पार्किङस्थलमा सेवाग्राही बस्ने कुर्सीहरु राखिएको थियो। उक्त कुर्सीहरु महानगरले निकालेको हो।
विभागका महानिर्देशकले मानवीय हिसाबले पनि उक्त संरचना नहटाउन अनुरोध गरेका थिए। ‘मानवीय हिसाबले पनि यो नहटाउनुस्। बाहिर सेवाग्राही तातो घाममा बस्नुपर्छ। त्यसैले शीतलमा बस्ने व्यवस्था मिलाएका हौं,’ उनको भनाइ थियो।
तर, महानगर प्रहरी प्रमुख राजु पाण्डेले झ्यालढोका नभएको ठाउँमा मान्छे बस्न नसक्ने र विभागले बहानाबाजी गरेको बताउँदै कुर्सीहरु खाली गर्न निर्देशन दिए। त्यसपछि धमाधम नगर प्रहरीले कुर्सी हटाएर पार्किङ क्षेत्र खाली गराएका छन्।