काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने ‘लिडरशिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले भदौ ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो।
कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले गरेका थिए। सिईओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए। पराजुलीले चालु आ.व. २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गरेका थिए।
कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाखसहित विशेष सम्मान गरिएको थियो। नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको थियो।
कोभिड–१९ का कारण विगत तीन वटा आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन। कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रही प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो।
यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।सम्मानितहरुमध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगदसहित सम्मान गरिएको थियो। प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको उद्घाटनसत्रमा बैंकर अनिलकेशरी शाहले कार्यक्रममा सहभागीहरुलाई आफ्नो ३२ वर्षे बैंकिङ अनुभवबारे मोटिभेसन स्पीच दिएर उत्प्रेरणा र हौसला प्रदान गरेका थिए।