काठमाडौं– बंगलादेशले तत्काल नेपालबाट ५० मेगावाट विद्युत् खरिद गर्न सहमति जनाएको छ। नेपालको बिजुली बंगलादेश लैजान भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ। नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउन त्रिपक्षीय छलफल गर्ने सहमति भएको हो।
त्यसका लागि पनि दुवै पक्षले पहल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले बताए। नेपाल र बंगलादेशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न भारतको अनुमति आवश्यक भएकाले दुई देशले यस्तो निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
बंगलादेशले प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाट बराबरको बिजुली लैजान सकिने बताएको छ। बंगलादेशको भेरामारामा अवस्थित हाइ भोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट त्यहाँ प्रारम्भिक चरणमा बिजुली निर्यातको मार्ग खोल्ने तयारी छ।
बिहीबारको बैठकले यसबारे महत्त्वपूर्ण सहमति जुटाएको छ। त्यसका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी व्यापार निगमबीच त्रिपक्षीय समझदारी हुन आवश्यक छ। प्राधिकरण र बंगलादेशको बोर्डले एनभीभीएनलाई अनुरोध गर्ने सहमति भएको छ।
एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो। बंगलादेशले हाल भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार रहेको बैठकमा जानकारी गराएको ऊर्जा मन्त्रालयको भनाइ छ।
विद्यमान संरचनाले करिब ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ। बंगलादेशले कुल ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि सहमति जनाउँदै त्यसका लागि संयुक्त उपक्रममा रहने गरी प्रक्रिया अगाडि बढाइने भएको छ।
आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन यथाशीघ्र बंगलादेशलाई उपलब्ध गराइने भएको छ। सो आयोजनाको सम्पूर्ण अध्ययन प्रतिवेदन नेपालले बंगलादेशलाई उपलब्ध गराउने र बंगलादेशले पनि आफ्नो धारणा दिने सहमति भएको सहसचिव भेटुवालले बताए। सोलार होम सिस्टम लगायतका नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको सोही खाले संस्थाबीच सहकार्यका लागि एक महिनाभित्र मस्यौदा उपलब्ध गराइनेछ।
क्षमता अभिवृद्धि, तालिम आदान–प्रदानबारे सम्बन्धित निकायबीचमा भावी कार्यदिशा तयार गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिइएको छ। भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) सँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कुल ५०० मेगावाट बराबरको बिजुलीको विद्युत् खरिद सम्झौता आगामी सेप्टेम्बरसम्म हुने जानकारी गराइएको छ।
बंगलादेशले यसअघि नै नेपालबाट सन् २०४० सम्म ९ हजार मेगावाट बिजुली लैजाने घोषणा गरिसकेको छ। संयुक्त निर्देशक समितिको बैठकमा नेपालकातर्फबाट ऊर्जा सचिव सुशीलचन्द्र तिवारी र बंगलादेशको पावर इनर्जी, एन्ड मिनरल रिसोर्सेजका सचिव मोहमद हबिबुर रहमानको सह–अध्यक्षता रहेको थियो। बुधबार सहसचिव स्तरीय बैठक सम्पन्न भएको थियो।–रासस